इटहरी घुस लिने कर्मचारी निष्काशनपछि उपमहानगर प्रमुखविरुद्ध कर्मचारी आन्दोलित


 


सुनसरी : सेवाग्राहीबाट घुस लिने कर्मचारी निष्काशन गरेपछि इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुले नगरप्रमुखविरुद्ध बिहीबार कामकाज ठप्प पार्ने भएका छन्। घुस लिँदै गरेको अवस्थामा भेटिएका उपमहानगरपालिकाका सव–ओभरसियर राम खड्का निलम्बनमा परेपछि कर्मचारी आन्दोलित बनेका हुन्। उनीहरुले बिहीबार उपमहानगरका २० वटै वडा कार्यालयसहित नगरपालिकामा काम नगर्ने जनाएका छन्।

घर निर्माण सम्पन्नको प्रमाणपत्र लिनेक्रममा सेवाग्राहीबाट घुस लिएको पाइएपछि खड्कालाई उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले कठालोमा समातेर बुधबार कार्यालयबाट निकालेका थिए। खड्काले घुस रकम लिएको गुनासो सेवाग्राहीले गरेपछि तत्काल कार्यकक्षबाट निकालिएको प्रमुख चौधरीले बताए। आफू निर्वाचित हुँदाताकै भ्रष्टाचारविरुद्ध अभियानमा लागिरहेको बताउँदै उनले भ्रष्ट कर्मचारीलाई कुनै छुट नहुने प्रष्टीकरण दिए। उपमहानगरमा सुशासन कायम गर्न लागिरहेको अवस्थामा सेवाग्राहीबाट घुस रकम लिएको पाइएपछि सब–ओभरसियर खड्कालाई निष्काशन गर्नुपरेको चौधरीको भनाइ छ। यउता कर्मचारीहरुले भने विनाप्रमाण प्रमुख चौधरीले कर्मचारीलाई अभद्र व्यवहार गरेको दाबी गरेका छन्। उनीहरुले बुधबार प्रमुख चौधरीविरुद्ध प्रदर्शन समेत गरे।

कर्मचारीहरुलाई हेपेको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन्। उपमहानगर प्रमुखविरुद्ध आन्दोलित कर्मचारीहरुले बिहीबारदेखि काम ठप्प पार्ने बताएका छन्। उनीहरुले अनिश्चितकालीन उपमहानगरपालिका बन्दको घोषणासमेत गरेका छन्। सब–ओभरसियर खड्कालाई घुस लिएको भन्दै अभद्र व्यावहार गर्दै कार्यालय परिसरबाट निष्काशन गरेको केही घण्टाभित्रै नायबसुब्बा मनोज दाहाललाई समेत कुटपिट गरेको आरोप कर्मचारीले लगाएका छन्। प्रमुख चौधरीले भने आफुले कर्मचारीहरुलाई कुटपिट नगरेको दाबी गरेको छन्।
तर, घुस खाएको पाएपछि खड्कालाई कार्यालय नआउनु भनेको उनको भनाइ छ। उनले नगरपालिकाभित्र भएको भ्रष्टाचारविरुद्धको अभियानमा लाग्दा कर्मचारी आन्दोलित हुनु दुःखत भएको टिप्पणी गरे। कर्मचारीले घुस खाए कानुनी कार्वाही गर्नुको साटो कर्मचारीलाई अपमान गर्ने काम उपमहानगर प्रमुख चौधरीले गरेको कर्मचारीहरुको भनाइ छ।

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्