ढुंगागिटी चोर्ने उर्लाबारीका ठेकदारलाई कारबाही गर्न दमक नगरपालिकाको माग !


 


उर्लाबारी, जेठ ९

अबैध रुपमा ढंगागिटी उत्खनन गरेको दाबीसहित झापाको दमक नगरपालिकाले ठेकेदारलाई कारवाही गर्न जिल्ला समन्वय समिति मोरङलाई पत्र लेखेको छ ।

झापा र मोरङको सीमा क्षेत्रमा रहेको मावा खोलाबाट अबैध रुपमा उत्खनन् भईरहेको उल्लेख गर्दै दमक नगरपालिकाले जिल्ला समन्वय समिति मोरङलाई पत्र लेखेको हो । दमक र उर्लाबारी नगरपालिका सीमा क्षेत्रमा छन् । दमक नगरपालिकाले ठेक्का नलगाएको खोलामा उर्लाबारीका ठेकेदार गोविन्द भट्टराईले रातको समयमा खोलाजन्य पदार्थको चोरी गरेको दाबी गरिएको छ ।

राजमार्ग उत्तरतर्फ मधुमल्ला जाने सडकको निर्माणधिन पुल दक्षिण तर्फ गत वर्षनै ढुंगागिटी बढी उत्खनन भएकाले २०७५–०७६ मा आईईई गरी मेसिन प्रयोग नगरेपनि उर्लाबारीका ठेकेदारले भने दमकको क्षेत्र भित्र प्रवेश गरी उत्खनन गरेको दाबी गरिएको छ ।

पटक पटक सम्झाउदा आइन्दा उत्खनन नगर्ने बचन दिने ठेकेदारले रातको समयमा उत्खनन गरेको पत्रमा उल्लेख छ । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले हस्ताक्षर गरेको पत्रमा ठेकेदार भट्टराई र उनले प्रयोग गर्ने बा २ क ९०६६ नम्बरको स्काभेटरलाई नियन्त्रणमा लिएर कारवाही गरी जानकारी गराउन भनिएको छ ।

पत्रमा रातको समयमा अबैध उत्खनन गरेका कारण दमक नगरपालिका– ३ मेची सहकारीको रबर खेती पश्चिम रहेको गाड बाधलाई क्षति पुगेको उल्लेख गरिएको छ । पत्र पाएपछि उर्लाबारी नगरपालिकालाई कारवाही गरी जानकारी गराउन पत्र लेखिएको जिल्ला समन्वय समिति मोरङका अधिकृत सरोज गौतमले जानकारी दिएका छन् । ठेकदार भट्टराईसँग यस विषयमा बुझ्न खोज्दा उनीसँग टेलिफोन सम्पर्क हुन सकेन ।

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्