नेपालको रेल उद्घाटन गर्न मोदी आउने


 


काठमाडौं । दोस्रो पटक भारतका प्रधानमन्त्री बन्ने तयारीमा रहेका नरेन्द्र मोदी सपथग्रहणको एक महिनापछि नेपाल आउने भएका छन् । भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको जनकपुर जयनगर रेल सेवाको उद्घाटनका लागि मोदी नेपाल आउन लागेका हुन् ।

मोदीलाई दोस्रो कार्यकालको प्रारम्भमै सरकारी स्तरबाट नेपाल भ्रमणको निम्तो दिने तयारी समेत भइरहेको परराष्ट्र स्रोतले जनाएको छ । यसअघि मोदी आफ्नो पहिलो कार्यकालमा ४ पटक नेपाल भ्रमणमा आइसकेका छन् ।यसैबीच ३० मे बिहिबार अर्थात जेठ १६ गते दिल्लीस्थित राजपथमा हुने शपथग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री ओली पनि सहभागी हुने भएका छन् ।

साँझ ५ बजे दिल्लीस्थित राजपथमा हुने शपथग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री ओली सोही दिन बिहान जाने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।‘भारतिय मिडियाबाट मोदीको सपथग्रहणमा छिमेकी राष्ट्रलाई बोलाउने तयारी भएको सुनिएको छ, तर सरकारी पक्षबाट औपचारिक निम्तो आउन बाँकी छ, आएपछि सकेसम्म भारत जाने प्रधानमन्त्रीको मनस्थीती छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने ।

आफ्ना सपथग्रहण समारोहमा मोदीले यसपटक बिम्सटेकका सदस्य राष्ट्र प्रमुखहरुलाई बोलाउने तयारी गरेका छन् । यसअघि २०१४ मा पहिलोपटक प्रधानमन्त्री बन्दा मोदीले विभिन्न देशका प्रमुखलाई निमन्त्रणा गरेका थिए । त्यतिबेला नेपालबाट तत्कालिन प्रधानमन्त्री सुशील कोईराला गएका थिए ।

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्