ठाकुर गैरेलाई नेकपामा ठक्करै ठक्कर, अत्याचार की राजनीतिक अभागी ?


 


सांसद रामकुमारी झाँक्रीले एक साताअघि सामाजिक सञ्जाल ट्विटरमा एउटा तस्बिर सार्वजनिक गर्दै ठाकुरकै विषयमा उल्लेख गरिन् । उनले आफूसँगै हिक्मत कार्की, योगेश भट्टराई र ठाकुर गैरेका बारेमा लेखिन् । ठाकुरलाई पार्टीले उचित ठाउँ नदिएकामा रामकुमारीको असन्तुष्टि थियो । ‘म सांसद छु, हिक्मत दाइ प्रदेशको गृहमन्त्री, योगेश दाइ पूर्वएमाले सचिव तथा सांसद, खिमलाल दाइ राष्ट्रियसभामा दलको सचेतक । ठाकुर दाइ मात्रै हो कुनै राजकीय पदमा नभएको’, उनले लेखेकी थिइन्, ‘हेरौ !, अन्यायका लागि लड्ने पार्टीमा न्यायका लागि लागेका छौं ।’

काठमाडौं । पूर्वएमालेको भ्रातृसंगठन अनेरास्ववियु बलियो र सशक्त थियो । संगठनकै अध्यक्षहरू पार्टीको प्रभावशाली नेतादेखि मन्त्रीसम्म बनेका छन् । अधिकांश नेता महत्वपूर्ण जिम्मेवारीमै छन् । तर, सबैभन्दा क्रियाशील र ऊर्जावान् पूर्वअध्यक्ष ठाकुर गैरेले भने पार्टी नेतृत्वबाट ठक्कर मात्र पाउने गरेका छन् । पूर्वएमालेमा होस् या नेकपामा उनलाई शीर्ष नेताले अन्याय गरिरहेका छन् ।

नेकपा नेतृ एवं सांसद रामकुमारी झाँक्रीले एक साताअघि सामाजिक सञ्जाल ट्विटरमा एउटा तस्बिर सार्वजनिक गर्दै ठाकुरकै विषयमा उल्लेख गरिन् । उनले आफूसँगै हिक्मत कार्की, योगेश भट्टराई र ठाकुर गैरेका बारेमा लेखिन् । ठाकुरलाई पार्टीले उचित ठाउँ नदिएकामा रामकुमारीको असन्तुष्टि थियो । ‘म सांसद छु, हिक्मत दाइ प्रदेशको गृहमन्त्री, योगेश दाइ पूर्वएमाले सचिव तथा सांसद, खिमलाल दाइ राष्ट्रियसभामा दलको सचेतक । ठाकुर दाइ मात्रै हो कुनै राजकीय पदमा नभएको’, उनले लेखेकी थिइन्, ‘हेरौ !, अन्यायका लागि लड्ने पार्टीमा न्यायका लागि लागेका छौं ।’

ठाकुरभन्दा पहिलेका अध्यक्षहरू शंकर पोखरेल, हिक्मत, योगेश, खिमलाल देवकोटा, राजेन्द्र राई पार्टी र सरकारमा शक्तिशाली बनेका छन् । उनीभन्दा पछि अध्यक्ष बनेका रामकुमारी र नविना लामा पनि सांसद छन् । तर, गैरेले न सांसद पद पाए न त पार्टीमा उचित जिम्मेवारी । उनले पार्टी नेतृत्वबाट ठक्कर मात्र पाइरहेका छन् ।

तत्कालीन एमालेको आठौं राष्ट्रिय महाधिवेशनमा उनले वैकल्पिक केन्द्रीय सदस्यको उम्मेदवारी दिए । झलनाथ खनाल र केपी ओलीको प्रतिस्पर्धामा उनले ‘वंश’ खुलाउन पाएनन् । दुवै टिमले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवार बनाएनन् । उनी टिमभन्दा बाहिरबाट चुनावी प्रतिस्पर्धामा आए । नेताको मन नजिते पनि उनले कार्यकर्ताको मन जिते । अत्यधिक मतबाट वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भए ।

नवौं महाधिवेशनमा उनी माधवकुमार नेपाल समूहबाट चुनावी मैदानमा आए । अत्यधिक मतबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यसपछि उनी २०७० सालको निर्वाचन लड्ने तयारीमा लागे । तर, पार्टी नेतृत्वले उनलाई पाल्पाबाट उम्मेदवार बनाएन । २०७४ सालको निर्वाचनमा उम्मेदवार बन्ने लगभग निश्चित थियो । तर, तत्कालीन इन्चार्ज विष्णु पौडेलले उनलाई रोके । उनले संघ र प्रदेशसभा कतै पनि चुनाव लड्न पाएनन् । राष्ट्रियसभामा लैजाने आश्वासन नेतृत्वले दिएको थियो । त्यहाँ पनि महासचिव पौडेल नै बाधक बने । प्रदेश ५ बाट कोमल वली राष्ट्रियसभामा सांसद बनिन् तर गैरे अटाएनन् । ठाकुरले विद्यार्थी संगठनको सफल नेतृत्व मात्र गरेनन् लामो राजनीतिक यात्रा गरेका छन् । तर, गुटका कारण केही महिनाअघि मात्र पार्टीमा भित्रिएकी कोमलभन्दा कमजोर भए । कोमल सांसद बन्दा उनी सडकमा पुगे ।

यति बेला पार्टीको पोलिटब्युरो गठन हुँदै छ । दुईपटक निर्वाचित केन्द्रीय सदस्य ठाकुरलाई पोलिटब्युरो सदस्य नबनाउने पक्षमा नेताहरू देखिएका छन् । संघीय समाजवादीबाट आएका विजय सुब्बालाई पोलिटब्युरो सदस्य बनाउने तयारी शीर्ष नेताले गरेका छन् । राप्रपाबाट आएकी कोमल र संघीय समाजवादीबाट आएका विजय सुब्बालाई शीर्ष नेताहरुले ठाकुरभन्दा अब्बल मानेका छन् । पार्टीकै असन्तुष्ट पक्षले यसलाई नेकपा नेताले गरेको अत्याचार र राजनीतिक हत्याका रूपमा अथ्र्याएका छन् ।

किशोरविक्रमलाई बालुवाटारमा बेवास्ता

पूर्वअखिलका अध्यक्षमध्ये ठाकुरसँगै किशोरविक्रम मल्ल पनि पदमा छैनन् । किशोरविक्रमलाई प्रधानमन्त्री केपी ओलीको स्वकीय सचिव बनाउने योजना राजनीतिक सल्लाहकार विष्णु रिमालदेखि खिमलाल देवकोटासम्मले गरेका थिए । प्रधानमन्त्री ओलीसँग भेट गर्न बालुवाटार पुर्याइएको थियो । रिमाल र देवकोटाले प्रधानमन्त्रीलाई स्वकीय सचिव बनाउन आग्रह गरे । तर, ओलीले न हुन्छ भने न त हुँदैन भनेर जवाफ दिए । त्यत्तिकै अस्वीकार गरिदिए ।

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्