कति इमान्दार ठेकदार ! थोरैमा काम सकिएको भन्दै राज्यलाई फिर्ता गरे ४० लाख


 


रामेछाप । समयमै ठेक्का नसक्ने रोग निर्माण व्यवसायीको पुरानै हो । निर्माण व्यवसायीको यो प्रवृत्तिले सिंगो देश नै आक्रान्त छ । निर्माण व्यवसायीको रवैयाले छवि नै धुमिल बनिरहेका बेला रामेछापका एक निर्माण व्यवसायीले भने नमूना काम गरेर देखाएका छन् ।

अधिकांश आयोजनामा निर्माण अवधि र लागत थप गर्ने गरिए पनि ती निर्माण व्यवसायीले तोकिएको समय अगावै थोरै लागतमा आयोजनाको काम फत्ते गरेका छन् ।रामेछाप सदरमुकाम मन्थलीका सात सरकारी भवन तोकिएको समयमा सम्झौताभन्दा कम लागतमै निर्माण भएका हुन् ।

भूकम्पबाट क्षतिग्रस्त भवनको पुणर्निर्माण गर्ने निर्माण व्यवसायीले कम रकममा निर्माण सकाएर राज्यकोषमा ४० लाख रुपैयाँ जम्मा गरिदिएका छन् । यस्तो नमूना काम गर्ने निर्माण कम्पनी हो– सुनकोसीर खानीर थोदुङ जेभी । र, सञ्चालक हुन् -रामबाबु घिमिरे ।

घिमिरेकाे निर्माण कम्पनीले जिल्लाको ३ सरकारी भवन निर्माणको जिम्मा लिएकाे थियाे । त्यसकाे लागत रकम थियाे- १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ । तर घिमिरेले लागत भन्दा कम रकममा नै निर्माण सम्पन्न गरिदिए । त्याे पनि निर्धारित समयमा नै ।

१३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँमा लिएकाे ठेक्का १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तीस रुपैयाँमै सम्पन्न भएको निर्माण व्यवसायी घिमिरेले बताए । तोकिएभन्दा कम लागतमा नै काम सकिएपछि आफूले बढी रकम सरकारलाई नै फिर्ता घिमिरेले सुनाए । घिमिरेकाे उदाहरणीय कामबाट राज्यकाे ३९ लाख ८५ हजार ८ सय १३ रुपैयाँ बचेको छ ।

खानेपानी डिभिजन कार्यालयको भवन निर्माणको लागि ४ करोड ६७ लाख ६२ हजार ६ सय ८२ रुपैयाँ, शहरी विकास फिल्ड कार्यालय भवनको लागि ५ करोड ७६ लाख ७२ हजार १ साय ४ रुपैयाँ र प्रमुख जिल्ला अधिकारी आवास भवको लागि २ करोड २४ लाख ३७ हजार ४४ रुपैयाँ रकम खर्च भएको कम्पनीले जनाएको छ ।

राष्ट्रिय पुणर्निर्माण प्राधिकरणबाट भूकम्पपछिको पुणर्निर्माणको लागि एसियाली विकास बैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत साझेदारी कार्यक्रमको लगानीमा ती भवनहरु निर्माण भएको हो । निर्माण सम्पन्न भवनहरु कार्यालय प्रयोजन, आवास, क्यान्टिन, ग्यारेज र फर्निचरको सुविधा सहित अपाङ्ग मैत्री छन् ।

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्