उपराष्ट्रपति पुन आजदेखि अष्ट्रियाको भ्रमणमा


 


काठमाडौंं, जेठ १२

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ युरोपेली मुलुक अष्ट्रियाको एकसाता लामो भ्रमणका लागि आज प्रस्थान गर्ने भएका छन् । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति पुन भियनामा जेठ १४ गते हुने जलवायु सम्बन्धी आर २० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन् ।

पुन आइतबार बिहान ९ः२० बजे अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानमा अष्ट्रिया उड्न लागेका हुन् । पुनको भ्रमण टोलीमा पत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत लगायत सहभागी हुनेछन् । अष्ट्रिया भ्रमणको क्रममा उपराष्ट्रपति पुनले जेठ १४ गते आर २० विश्व शिखर सम्मेलनमा नेपालको धारणा राख्ने छन् ।

भ्रमणका क्रममा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट हुनेछ । उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममासमेत सहभागी हुनेछन् । उपराष्ट्रपति जेठ १८ गते स्वदेश फर्किने छन् ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्