चीनसँगको तातोपानी नाका खुल्ने भएपछि चहलपहल बढ्यो


 


काठमाडौंं, जेठ १२

भुकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीय खुशी भएका छन् । उत्तरी छिमेकी देश चीन जोड्ने सो नाका जेठ १७ गतेदेखि सञ्चालनमा आउँदैछ ।

स्थानीय छिरिङ शेर्पाले नाका खुल्ने भएपछि नयाँ जीवन प्राप्त गरेको अनुभुति भएको बताए । भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजार लगायतका क्षेत्र यतिखेर क्रमशः गुलजार बन्दै गएका छन् । नाका खुल्ने भएपछि भत्किएका घर र संरचनालाई स्थानीयले मर्मत थालेका छन् ।

भोटेकोशी गाउँपालिकाका मिङ्मा शेर्पाले नाका सञ्चालनमा आउनु सबैका लागि खुसीको खबर भएको बताए । नाका खुल्ने भएपछि शनिबार गृहमन्त्री रामबहादुर थापा, सिन्धुपाल्चोकका सांसद अग्निप्रसाद सापकोटा लगायतले तातोपानी नाका र कोदारी राजमार्गको स्थलगत निरीक्षण गरेका थिए ।

‘देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने यो नाका सञ्चालनमा आउन लागेको छ,’ निरीक्षणपछि गृहमन्त्री रामबहादुर थापाले भने, ‘सरकारले शान्ति सुरक्षाको सबै प्रबन्ध गरेको छ, ‘एक चीन नीति’ विरुद्ध हुने सबै प्रकारका गतिविधि पूर्णरुपमा बन्देज गर्दै नाकालाई थप व्यवस्थित बनाउँछौँ ।’

नाका खुल्ने भएसँगै पर्यटन र दुई देशको सम्बन्ध नयाँ उचाइमा लगेको उल्लेख गर्दै उनले स्थानीयवासीले थप व्यवस्थित बनाउन सहयोग गर्नुपर्नेमा जोड दिए । सांसद सापकोटाले ठूलो मेहनत र प्रयासबाट नाका सञ्चालनमा आउन लागेकाले कुनै पनि प्रकारको कमजोरी हुुन नदिन सबैले ध्यान दिनुपर्ने बताए ।

‘यतिखेर परीक्षणका रुपमा नाका खुल्दैछ,’ सापकोटाले भने, ‘अवाञ्छित गतिविधि नियन्त्रणका लागि सबैको साथ र सहयोग जरुरी छ ।’ भोटेकोशी गाउँपालिकका अध्यक्ष राजकुमार पौडेलले स्थानीय सरकारका तर्फबाट नाका व्यवस्थित गर्न सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाए । अध्यागमन विभागका महानिर्देशक इश्वरीराज पौडेलले भूकम्पपछि करिब बन्द अवस्थामा रहेको अध्यागमन कार्यालय स्थापना भइसकेको जानकारी दिए ।

भन्सार विभागका निर्देशक शिव भण्डारीले नाका खुल्नु अगावै भन्सार कार्यालय सञ्चालनमा ल्याइने बताए । भूकम्पका कारण तातोपानीमा रहेका सम्पूर्ण संरचनामा क्षति पुगेपछि नाका बन्द रहेको थियो । नाकामा आवश्यक सबै संचरना निर्माण भइसकेका छन् । अध्यागमन कार्यालय, भन्सार कार्यालय र सुरक्षा निकायका कार्यालय खडा भइसकेका छन् । रासस

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्