गोकुल बाँस्कोटाले रामहरि खतिवडालाई भने : ‘घडी चोर्नुभन्दा चौकीदारी राम्रो’


 


काठमाडौं। सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले आफूलाई ‘केपी ओलीका घर कुर्ने चौकीदार’ भनेकोमा आपत्ति जनाएका छन् ।

गृहजिल्ला काभ्रेमा शनिबार आयोजित कार्यक्रममा बाँस्कोटाले खतिवडातर्फ लक्षित गर्दै चोरी डकैतीभन्दा चौकीदारी राम्रो भएको जवाफ दिएका छन्। खतिवडाले केही समय अघि बाँस्कोटालाई ओलीका घर कुर्ने चौकीदार भएको टिप्पणी गरेका थिए । बाँस्कोटा मन्त्री भएदेखि बालकोटस्थित प्रधानमन्त्री ओली निवासमा बस्दै आएका छन् ।

उनले भने, ‘एक जनाले मलाई प्रधानमन्त्री केपी ओलीको घर कुर्ने चौकीदार भन्नुभएछ । मेरो विचारमा चोरी, डकैती र भ्रष्टाचारी हुनुभन्दा चौकीदार हुनु धेरै राम्रो हो ।’ खतिवडामाथि करिब दुई वर्षअघि एक होटलको क्लबमा महंगो घडी चोरीको आरोप लागेको थियो । तर, घडी धनीले नै खतिवडाले चोरेको नभई उनलाई बदनाम गराउने नियतले कसैले आफ्नो घडी खतिवडाको खल्तीमा राखिदिएको भन्दै वक्तव्य जारी गरेका थिए ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्