बन्दले देशभरको जनजीवन प्रभावित, कहाँ कहाँ भेटियो बम ?


 


काठमाडौं– पार्टीका कार्यकर्ताको हत्या भएको भन्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको समुहले गरेको नेपाल बन्दले देशैभरको जनजीवन प्रभावित भएको छ ।

राजधानीमा आइतबार शृंखलाबद्ध रुपमा बम विस्फोट भएपछि सोमबार अधिकांशमा ठाउँमा बन्दकाे प्रभाव देखिएको हो । विस्फोटपछि स्थानीय त्रसित भएका छन् भने फाट्टफुट्टबाहेक अधिकांश ठाउँमा सवारीसाधन चलेका छैनन् । बजार र कलकारखाना बन्द भएका छन् भने स्कूल र कलेज ठप्प छन् ।

बन्दको प्रभाव काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रमा बढि मात्रामा देखिएको छ । उपत्यकामा अत्यन्त कम सवारी साधन सडकमा गुडेका छन् भने बजार र पसल खुलेका छैनन् । सडक सुनसान जस्तो बन्दा स्कूल कलेज पनि खुल्न सकेका छैनन् ।

यस्तै सुदुरपश्चिम प्रदेश, कर्णली प्रदेश, प्रदेश ५, प्रदेश ४ र प्रदेश ३ को जनजीवन पनि प्रभावित भएको छ । प्रदेश २ र १ मा भने बन्दको आशिंक मात्रै प्रभाव देखिएको छ।

पार्टीका कार्यकर्ता तिर्थराज घिमिरको हत्या भएको भन्दै त्यसको विरोधमा विप्लव नेतृत्वको समुहले बन्द आब्हान गरेको हो । घिमिरेलाई नियन्त्रणमा लिएर हत्या गरिएको आरोप विप्लव समूहले लगाउदै आएको छ ।

ठाउँ ठाउँमा बम

बन्दको आयोजना गरेको विप्लव समुहले ठाउँ ठाउँमा बम राखेर स्थानीयलाई त्रसित बनाएको छ । मोरङ, धादिङ, कास्की, नवलपरासी, मकवानपुर, बाग्लुङ, अर्घाखाँचीलगायतका विभिन्न ठाउँमा बम फेला परेका छन् ।

बम डिस्पोज गर्ने कार्यमा नेपाली सेनाको टोली सक्रिय बनेको छ । बम भेटिएपछि अधिकांश ठाउँका स्थानीयमा त्रास देखिएको छ । ठाउँ ठाउँका सडकमा समेत बम राखेको पाइएपछि सवारी साधन गुड्न सकेका छैनन्।

यस्तै आइतबार साँझ काठमाडौंका तीन ठाउँमा बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र नागढुंगामा भएको विस्फोटमा परि ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

विस्फोटमा परि ज्यान गुमानउनेमा विप्लव समुहका कार्यकर्ताहरु नै रहेको प्रहरीको दाबी छ । काठमाडौंमा बम बनाउने र टाइम मिलाउने क्रममा विस्फोट भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

ट्रकमा पेट्रोल बम प्रहार

नेपाल बन्दको आयोजना गरेका विप्लव समुहले नवलपरासीको अरुणखोलामा एक ट्रकमाथि पेट्रोल बम प्रहार गरेको छ । लु २ ख १०८ नम्बरको ट्रकमा साेमबार बिहान पेट्रोल बम प्रहार भएको हाे । बम प्रहारवाट ट्रक चालक घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्