विप्लव समुहका नेताहरुलाई नै सरकारले संविधानसभा पदकबाट सम्मानित गर्ने


 


काठमाडौं, जेठ १३

सरकार आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई सम्मानित गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहितका नेताहरूलाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।

पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा कालीकोट – १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । विप्लव समूहकै अर्का नेता सन्तोषकुमार बुढा मगरले पनि संविधानसभा पदक पाउने भएका छन् । उनले २०६४ सालमा रोल्पा – २ बाट चुनाव जितेका थिए ।

यस्तै, विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई पनि सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मानित गर्ने भएको छ । उनी पहिलो संविधानसभामा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद बनेकी थिइन् ।

भुजेललाई २०७५ भदौमा बालाजुबाट प्रहरीले पक्राउ गरेको छ । त्यतिबेला विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाइसकेको थिएन । भुजेललाई आगजनी सम्बन्धी मुद्दामा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो । साभार : अनलाईन खबरबाट

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्