प्राविधिक शिक्षाको माध्यमबाट नै देश सम्बृद्ध – मन्त्री घिमिरे


 


उर्लाबारी,जेठ २१
१ नंं प्रदेशका समाजिक विकाश मन्त्री जिवन घिमिरेले प्राविधिक शिक्षाको माध्यमबाट नै देशलाई सम्बृद्ध बनाउन सकिने बताउनु भएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका – ३ स्थित कालिका सामुदायिक माध्यमिक विद्यालयको ४० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहलाई आज सम्बोधन गदै उहाँले अहिलेको समयमा प्राविधिक शिक्षा अनिवार्य रहेको बताउनुभयो । नेपालमा अब राजनीतिक अधिकार प्राप्त भईसकेकाले समृद्ध नेपाल निर्माण गर्ने प्रमुख आधार नै शिक्षा र चेतना रहेको मन्त्री घिमिरेले बताउनुभयो ।

शिक्षा व्यवसायिक हुन आवश्यक रहेको बताउनुहुँदै मन्त्री घिमिरेले अबको शिक्षा रोजगारीमुलक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मिक्लाजुङ गाउँपालिकामा प्राविधिक क्षेत्रमा कस्तो शिक्षा आवश्यक पर्छ सोही अनुसार अध्यापन हुनुपर्ने बताउनुभयो । प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट यस प्रदेशका ५६ निर्वाचन क्षेत्रका ११२ वटा सामुदायिक विद्यालयमा झोला र किताब बिस्थापित गर्नेगरी आईटी शिक्षा सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो । अब बिद्यालय र कक्षाकोठा आईटीमैत्री हुनुपर्नेमा जोड दिँदै उहाँले आधुनिक प्रविधि अनुसार शिक्षा सञ्चालन हुनुपर्ने बताउनुभयो ।

मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल)ले विद्यालयको प्राविधिक शिक्षा र अग्रेजी माध्यमको पठन–पाठनमा सहयोग गर्ने उद्घोष गर्नुभयो । यस विद्यालय आफु पनि पढेको बिद्यालय भन्दै उहाँले रोजगामुलक शिक्षा नै अबको आवश्यकता रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मात्रिकाप्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुका साथै बिद्यालयका समस्याका विषयमा अवगत गराउनु भएको थियो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार लिम्बुले मन्त्री घिमिरेलाई विद्यालयको मागपत्र बुझाउनु भएको थियो ।

प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्