जर्मनीमा मनाइयो उभौली पर्व


 


जर्मनी । जर्मनीमा रहेका किँरात समुदायले पनि साकेला उभौली पर्व भव्यताका साथ मनाएका छन् । किरात राई समुदाय जर्मनीले गत बर्ष देखी शुरू गरेको साकेला उभौली पर्व यसवर्ष पनि ९ जून २०१९ मा भव्यताका साथ मनाईएको निनाम्मा राईले जानकारी दिनुभयो ।
साकेला उभौली जर्मनको फ्रन्क्फोर्ट शहरको हरियाली पार्कमा मनाईएको हो ।

सो कार्यक्रममा जर्मनीका स्टुटगार्ट हाम्बर्ग, मुन्चेन , नर्डराईन वेष्टफालन , राहिनल्यान्ड फाल्च र सारबुर्कन लगायत छिमेकी राष्ट्र स्विजरल्याण्डबाट पनि किँरात तथा गैर किँरात समुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख आतिथी गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषदका उपाध्यक्ष कुमार पन्त र गैर आवासीय नेपाली संघ जर्मनीका अध्यक्ष बिजय मोक्तानले आफ्नो बिचार राख्दै साकेला उभौली पर्वको अवसरमा विश्वभरि रहनुभएका सम्पूर्णमा नेपालीमा एकता र सहिष्णुताको शूभकामना दिनुभएको थियो ।

कार्यक्रममा अतिथी पूर्व सभासद सैयेन्द्र वान्तवा, स्विजरल्याण्डका सन्तोष राई ,देव राईका साथै गैर आवासिय नेपाली संघ जर्मनीका पूर्व र वर्तमान कमिटिका पदाधिकारीहरुको साथमा जर्मनीमा रहेका नेपाली अन्य संगठनका प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा किँराती समुदायले आफ्नो जातिय पहिरनमा सजिएर साकेला साकेन्वा सखेवा सिली नाचेका थिए ।

कार्यक्रममा पुरुषहरु कालो कोट, दौरा–सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाचेका थिए भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई शिलिको इसारा गर्दै नाचेका थिए । प्रत्येक वर्ष बैशाख पुर्णिमादेखि किँराती समुदायले भव्य रूपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी साकेला शिलि नाच्दै एक महिना सम्म मनाउने गर्छन् ।

किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात बैशाख पुर्णिामा उभौली र अन्न वाली पाकिसकेपछि खुशियाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) विशेषरूपले खुशियाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन् ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्