स्रष्टालाई बीमा र लेखक गाउँको योजना


 


काठमाडौँ ।  शमी साहित्य प्रतिष्ठानले संस्थाबाट कृति प्रकाशित हुने स्रष्टाका लागि रु एक लाखको जीवन बीमाको व्यवस्था शुरु गरेको छ । सो संस्थाले प्रतिष्ठानबाट कृति प्रकाशन हुने स्रष्टाहरु सम्मिलित स्रष्टा समाज (लेखक क्लब) र पठन संस्कृतिको विकास गर्न पाठक क्लब स्थापना गरी सञ्चालनमा ल्याउने घोषणासमेत गरेको छ । निजी क्षेत्रको साहित्यिक संस्थाले लेखकहरुका लागि यस्तो प्रबन्ध गरेको यो पहिलो अवसर हो ।

लेखक क्लबबाट आपत्कालीन कोष स्थापना गरी क्लबमा आबद्ध स्रष्टालाई आर्थिक सङ्कट परेमा उचित सहयोग गरिने प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित हुने कृतिको पाण्डुलिपि स्वीकृत हुनासाथ लेखकको ५० प्रतिशत रकम स्रष्टालाई उपलब्ध गराउने, हरेक कृति कम्तीमा दुई हजार प्रति प्रकाशित गर्ने र सबै पुस्तकमा क्रम सङ्ख्या अनिवार्य राखिने प्रतिष्ठानले जनाएको छ ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति र लोकसाहित्यको खोज अनुसन्धान एवं तिनीहरुको समीचिन संरक्षण, सम्वद्र्धन र उन्नयन गर्ने उद्देश्यका साथ विसं २०७१ मा स्थापित सो संस्थाले आगामी साउन महीनादेखि मौलिक रुपरेखासहित ‘शमी’ साहित्यिक मासिक पत्रिकाको प्रकाशन प्रारम्भ गर्ने निर्णय गरेको छ ।

पत्रिकाको पहिलो अङ्कमा नेपाली साहित्यका विशिष्ट धरोहर शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेकोे १०० वर्ष प्रवेशका सन्दर्भमा उहाँहरुको योगदानबारे विशेष सामग्री समावेश गरिनेछ । यस पत्रिकाको सम्पादकमा गोरखापत्र दैनिकका पूर्वप्रबन्धसम्पादक लक्ष्मीधर गुरागाईं रहनुहुनेछ ।

संस्थाले आगामी असोज ५ गते वितरण हुने गरी रु एक लाख ११ हजार ११ राशिको ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ र रु २५ हजार राशिको ‘शमी पाठक पुरस्कार’ घोषणा गरिसकेको छ । ‘बादलभित्रको घाम’ संस्थाका संरक्षक डोलिन्द्रप्रसाद शर्माको पहिलो निबन्ध कृति हो ।

सातै प्रदेशका कार्यालय खोल्ने तयारी गरेको प्रतिष्ठानले नयाँ कोष खडा गरी सुविधासम्पन्न स्रष्टा गाउँको निर्माण गर्ने दीर्घकालीन लक्ष्य पनि सार्वजनिक गरेको छ । रासस

 

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्