अब फेसबुक चलाउँदा होसियार ! यी गल्ती गरे १५ लाखसम्म जरिवाना


 


काठमाडौं, जेठ २९

सामाजिक सञ्जालको प्रयोगमा कडाई गरिने भएको छ । त्यसको लागि सूचना प्रविधिसम्बन्धी विधेयक तयार पारिएको छ । उक्त विधेयक संसदको विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले बहुमतले पारित गरेको छ । उक्त विधेयकमा साइबर बुलिङ दण्डनीय बनाएको छ ।

विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साहीत गर्ने, अपमान गर्ने वा हप्काउने काम गर्न नपाइने विधेयकमा उल्लेख गरिएको छ । त्यस्तै सामाजिक सञ्जालहरु नेपालमा दर्ता हुनुपर्ने, घृणा, द्वेष वा अपहेनामा उत्पन्न हुने काम कारबाही गर्न नहुने प्रावधान पनि विधेयकमा समावेश गरिएको छ ।

विधेयकमा कसुरदारलाई १५ लाखसम्म जरिवाना तथा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्थालाई कायम राखेको छ । उपसमितिको बुधबार बसेको बैठकले प्रतिवेदन तयार पारेको संयोजक बिनाकुमारी श्रेष्ठले जानकारी दिईन् । अब उक्त प्रतिवेदन समितिको पूर्ण बैठकमा पेश गरिनेछ ।

पछिल्लो सामाजिक सञ्जालको प्रयोगमा विकृति बढेको भन्दै सरकारले यसलाई कडाई गर्दै लगेको हो । कानूनले गर्न नहुने वा निषेध गरिएका कार्यहरु पनि सामाजिक सञ्जाल मार्फत हुँदै आईरहेको सरकारको दाबी छ ।

नेपालमा भएका अभ्यास र प्रयोगका आधारमा सामाजिक सञ्जालको प्रयोगलाई थप व्यवस्थित र मर्या्दित बनाउन मात्रै खोजिएको मन्त्री बाँस्कोटाको भनाइ थियो । सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्न खोजिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भनाई छ ।

फेसबुक तथा अन्य सामाजिक सञ्जाल नेपालभित्र सञ्चालन गर्न भने सम्बन्धित संस्थाले दर्ता गर्नुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ । सामाजिक सञ्जाललाई सकारात्मकरुपमा प्रयोग गरे त्यसले मानव समाजलाई सकारात्मक सन्देश दिने र गलतरुपमा प्रयोग गरिए त्यो घातक हतियार हुने मन्त्री बाँस्कोटाको भनाइ थियो ।

सामाजिक सञ्जालका विषयमा नेपालमा मात्रै नभई अमेरिका, बेलायत, जर्मनी, भारत, इजिप्ट, क्यानडा जस्ता देशमा समेत चर्चा परिचर्चा शुरु भएको उल्लेख गर्दै उनले सामाजिक सुरक्षामा उत्पन्न गरेका चुनौतीलाई के कसरी सम्बोधन गर्ने भन्नेमा सरकारको चासो रहेको बताए ।

उनले साइबर सुरक्षाका विषयमा सरकार गम्भीर रहेको भन्दै गलत काम हुन नदिनेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले आफ्नै अभ्यासका आधारमा सूचना प्रविधिसम्बन्धी विषयलाई थप व्यवस्थित र मर्यादित बनाउन खोजिएको उल्लेख गर्दै गलत तवरले भइरहेको प्रचारप्रति गुनासो गरे ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्