सचेत रहनुहोला ! सुनसरीको डेँगु रोग मोरङमा पनि फैलियो


 


मोरङ, जेठ २९

केही हप्तादेखि सुनसरीको धरान नगरपालिकासहित जिल्लाको विभिन्न ठाउँमा फैलिएको डेंगु मोरङमा समेत देखिन थालेको छ। हाल मोरङको केराबारी, सुन्दर हरैचासहित विराटनगर महानगरपलिकाका केही स्थानमा डेंगु देखिन थालेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश १ का प्रमुख भोगेन्द्रराज डोटेल बताए।

उनले भने ‘सुनसरीमा केही हप्तादेखि फैलिएको डेंगु हाल मोरङको केही स्थानमा समेत देखिन थालेको छ।‘ डेंगु ज्वरोका संक्रमित बिरामी देखिन थालेपछि बुधबारदेखि यस क्षेत्रमा औषधि छर्किने कार्य शुरु गरिएको समेत डोटेलले बताए। धरान उमहानगरपालिकमा सो रोगबाट संक्रमित बिरामी अत्यधिक देखिएकाले नियन्त्रणका लागि नगरका सम्पूर्ण वडामा बुधबारदेखि मालाथिन फगि (स्प्रे) छर्केने कार्य शुरु गरिएको समेत बताइएको छ।

बुधबार वडा नम्बर १, २, ३, र १०, यही जेठ ३० गते १, ३, ४, र १० मा, ३१ गते ४, ५, ६ र ७ मा, ३२ गते ५, ६, ८ र ९ मा औषधि छर्किने भएको छ। यसैगरी आगामी असार १ गते ८, ९, ११, र १२ मा, २ गते ११, १२, १३, र १४ मा, ३ गते १४, १५, १६ र १७ मा र ४ गते १८, १९ मा औषधि छर्किने तयारी भएको महानगरले जानकारी दिएको छ। बैशाख ३१ गतेदेखि सुनसरीको विभिन्न ठाउँमा डेंगु फैलिएर महामारी रुप लिइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन।

हालसम्म डेंगुबाट तीन सय ३० जना संक्रमित भएको समेत प्रदेश स्वास्थ्य प्रमुख डोटेलले बताए। लामखुट्टेले टोकेको मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने गर्छ, दुई तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिनासाथ चिकित्सकलाई चिकित्सकलाई देखाउनुपर्ने हुन्छ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्