पूर्वी उत्तरी मोरङका खोला दोहन रोक्न सांसद् घिमिरे र साम्बाको माग (भिडियो सहित)


 


विराटनगर, जेठ २९

प्रदेश १ प्रदेशसभाका सांसदले प्राकृतिक स्रोतको अस्वभाविक उत्खनन् र दोहन रोक्न प्रदेश सरकारसँग माग गरेका छन्।  प्रदेशसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै मोरङ क्षेत्र नं. २ का प्रदेशसभा सांसद उपेन्द्र घिमिरे र कुलप्रसाद साम्बा (कुशल) ले खोलाजन्य वस्तुको अवैध निकासी र तस्करी बढेको भन्दै प्रदेश सरकारले राजस्व मात्रै उठाएर नपुग्ने बताउनुभयो ।

सांसद् घिमिरेले प्रदेश सरकारले आवश्यक अनुगमन गरेर उत्खनन् र दोहन रोक्नुपर्ने बताउँदै आगामी आर्थिक वर्षमा लेटाङ, बेलबारीको चिसाङ खोला र केराबारीको खदम खोलाबाट खोलाजन्य वस्तु निकासीमा रोक लगाउनुपर्ने माग गर्नुभयो ।

सांसद कूलप्रसाद साम्बाले मोरङको पूर्वउत्तर क्षेत्र ढुंगा, बालुवा, वन र सुन तस्करीको हब बन्दै जाँदा सरकार रमिते बनेको भन्दै पशुपति शर्माको गीतमा जस्तै लुट भइरहेको दाबी गर्नुभयो । मोरङको पूर्वीउत्तरी क्षेत्र ढुंगा, बालुवा, वन र सुन तस्करीको हब बनेको छ,’ साम्बाले भन्नुभयो, तर, प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकार रमिते बनेको छ, मलाई त पशुपति शर्माले ठीकै गाएछन् कि जस्तो लागेको छ, लुट्न सके लुट कान्छा, नेकपाको सरकार लुट्न बनेको हो ?’ ।

सांसद वसन्त बानियाँले मेची नदी नियन्त्रणको काम नहुँदा त्यस खोला आसपासका जनता वर्षा लागेसँगै त्रसित भएको भन्दै उपर्युक्त कदम चाल्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भारतले दशगजा क्षेत्रमा सडक कालोपत्रे गरेर बाँध निर्माण गर्दा नेपाली भूमि जलमग्न हुने अवस्था आएको भन्दै सरकारले कुटनीतिक ढंगले समस्याको समाधानमा पहल गर्नुपर्ने, अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्