जनकपुरबाट ९ जना पत्रकार पक्राउ परे


 


धनुषा । जनकपुरबाट ९ जना पत्रकार पक्राउ परेका छन् । सरकारले लोककल्याणकारी विज्ञापन छापेकोको भुक्तानीमा भारी कटौती गरिएको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग राख्दै शान्तिपूर्ण धर्नामा बसेका पत्रकारलाई आज दिउँसो ४ः३० बजे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महासंघ प्रदेश नम्बर २ का सचिव आरएन विश्वास, महासंघ सप्तरी शाखाका उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका प्रदेश सभासद्द्वय वैद्यनाथ यादव, नवीनकुमार गुप्ता, सप्तरी शाखाका कार्यसमिति सदस्य भुषणकुमार सिंह र विन्दु यादवलगायत सदस्यहरु धर्मपाल राउत, गोपाल गुप्ता र परिस कर्णसहित ९ जना रहेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जनाएका छन् ।

जिल्ला हुलाक कार्यालय धनुषामा धर्ना र तालाबन्दीमा रहेका पत्रकारमाथि प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो । आफ्ना जायज मागहरु राखी शान्तिपूर्ण रुपमा धर्ना बसिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको भन्दै महासंघले खेद प्रकट गरेको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्