राष्ट्रपतिले पठाएको पत्र सिंहदरबार पुग्न पाँच दिन लागेपछि


 


काठमाडौं । काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव ३ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १८ मिनेट लाग्ने देखाउँछ ।

सुन्दा अचम्म लाग्छ, यति छोटो दूरीमा रहेको राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्म पत्र पुग्न पाँच दिन लागेको छ । राष्ट्रपति कार्यालयले संसद् सचिवालयमा पठाएको पत्र पाँच दिनपछि मात्र प्राप्त भएको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

राष्ट्रपति कार्यालयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी तोकिएको पत्र महाराजगन्जबाट संसद् सचिवालयमा पुग्न पाँच दिन लागेको हो । उनै प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुनका लागि राष्ट्रपति कार्यालयबाट एकै दिनमा पत्र सिंहदरबार पुगी सोही दिन शपथको कार्यक्रमसमेत तय भएको थियो । यस्तै संसद् अधिवेशन आह्वानका लागि प्रधानमन्त्री कार्यालयले गरेको पत्रसमेत एकै दिनमा राष्ट्रपति कार्यालय पुगी सोही दिन अधिवेशन आह्वानको पत्र संसद् सचिवालयमा पुगेको घटना पनि ताजै छ ।

प्रधानमन्त्रीको युरोप भ्रमणको विषयमा संसद्लाई कुनै जानकारी नै नदिएको पनि सार्वजनिक भएको छ । प्रधानमन्त्री युरोप भ्रमणमा गएको पाँचौं दिनमा बुधबार मात्रै संसद्लाई भ्रमणको आधिकारिक जानकारी प्राप्त भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्