अब कतारमा खुला घाममा काम लगाउन रोक


 


काठमाडौं, असार १

अत्यधिक गर्मी बढेपछि कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले कामदारलाई अगष्ट ३१ सम्म खुला घाममा काम नलगाउन निर्देशन दिएको छ ।

उक्त नियम जुन १५ अर्थात शनिबारबाट शुरु भएको छ । खुला कार्यक्षेत्र वा घाममा काम गर्न पर्ने कामदारहरुको लागि दिउँसो साढे ११ बजे देखि अपरान्ह ३ बजे सम्मका लागि काम बन्द गर्नु पर्नेछ । कतारले कडाईका साथ निर्देशन लागु भए नभएको अनुगमन गर्ने बताएको छ ।

श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्नेगरि काममा नलगाउने सूचना टासिएको हुनुपर्ने जनाउँदै मन्त्रालयले नियम उल्लघंन गर्ने कम्पनीलाई कम्तीमा १ महिनासम्म काम बन्द गरीदिने चेतावनी समेत दिएको छ । शनिबार कतारको तापक्रम ४५ डिग्री सेल्सियस रहेको थियो ।

अगस्टसम्म उक्त तापक्रम ५४ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान रहेको छ । लगातार चर्को गर्मीमा काम गर्ने कामदारका शरिरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनले बताएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कतारमा करिब ३ लाख ५० हजार भन्दाबढी नेपाली कामदार कार्यरत छन् ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्