प्रदेश १ मा निर्वाचित सांसद्लाई तीन करोड दिने तयारी


 


बिराटनगर, असार १

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि आज असार १ गते बजेट सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्षका लागि करिब ४२ अर्बको बजेट सार्वजनिक गर्ने गर्ने तयारी गरेको छ ।

चालु आर्थिक वर्षका लागि प्रदेश १ सरकारले ३५ अर्व २ करोडको बजेट सार्बजनिक गरेको थियो । आगामी वर्षका लागि करिब ७ अर्ब वृद्धि गरी बजेट ल्याउन लागिएको हो ।

प्रदेश सरकारले सार्बजनिक गर्ने बजेटमा बहुवर्षीय आयोजनाहरु प्राथमिकतामा छन् । सरकारले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएका आयोजनाकालागि बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले प्रदेश सभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पनि छुट्टै विकास योजना दिने छ । चालु आर्थिक वर्षमा समानुपातिक तर्फका सदस्यहरुलाई यस्तो रकम नदिँदा विभेद भएको भन्दै बिरोध भएको थियो ।

आगामी वर्ष प्रदेश सभाका ९३ जना सदस्यलाई ५० लाखसम्म खर्च गर्न सक्ने गरी योजना दिने र प्रत्यक्ष तर्फबाट निर्वाचितहरुलाई ३ करोडको प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम पनि दिने तयारी रहेको आर्थिक मामिला मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्