एसइईको नतिजा असार दोस्रो साता


 


काठमाडौं, असार २

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने बताए ।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश–२ मा प्रश्नपत्र बाहिरिएपछि स्थगित र रद्द गरेका विषयको परीक्षा २२ देखि २९ चैतसम्म सञ्चालन गरेको थियो । यसकारण परीक्षा सकिन अघिल्ला वर्षको भन्दा १० दिन बढी लागेको थियो । १० चैतदेखि परीक्षा सुरु भएको थियो ।

एसइईमा देशभरबाट पौने पाँच लाख विद्यार्थी सहभागी छन् । परीक्षा नियन्त्रक अधिकारीले सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।

प्रकाशित मिति: २ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्