मोरङमा विद्यार्थी बेहोस, शिक्षिका मोबाइलमा व्यस्त


 


मोरङ बालबालिकाको भविष्य कोर्ने स्थलका रूपमा विद्यालयलाई लिने गरिन्छ । शिक्षक तथा शिक्षिका विद्यार्थीका अविभावक पनि हुन् । विद्यालयमा प्रवेश गरेपछि घर नपुगेसम्म विद्यार्थीको हेरचाह गर्ने दायित्व उनीहरूकै हुन्छ । तर, मोरङको सुन्दरहरैचा नगरपालिकाको एक सामुदायिक विद्यालयमा भने फरक दृश्य देखिएको छ ।

सुन्दरहरैचा–११ स्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्रा बेहोस हुँदा पनि शिक्षिकाहरू भने मोबाइलमा व्यस्त थिए । पटक–पटक एउटै कक्षाका विद्यार्थी बेहोस हुँदा पनि उनीहरूमा कुनै चिन्ता देखिन्नथ्यो । सबै मोबाइल चलाउनै व्यस्त देखिन्थे ।

कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी दुईपटक बेहोस भइसकेका छन् । एउटै विद्यार्थी दुईपटक बेहोस हुँदासमेत शिक्षिकालाई कुनै चासो देखिएन । दुईपटक एउटै कक्षाका एउटै विद्यार्थी बेहोस भएको प्रधानाध्यापक सुनिलकुमार झाले बताए । गर्मीले हो वा कमजोरीले विद्यार्थी बेहोस भएका हुन सक्ने उनले बताए ।

प्रधानाध्यापक झाले बेहोस हुने विद्यार्थीको नाम भन्न नसक्ने जानकारी दिए । ‘यो विद्यालयको इज्जत र प्रतिष्ठाको विषय हो, समाचार नबाइदिनुहोला, स्कुलमै मोबाइल चलाउने शिक्षिकालाई हामी आन्तरिक कारबाही गर्छौं,’ उनले भने । स्कुलमा एउटै विद्यार्थी पटक–पटक बेहोस हुन थालेपछि त्रास फैलिन थालेको छ ।

प्रकाशित मिति: २ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्