समृद्ध देश बनाउन खेलकुद अपरिहार्य – मुख्यमन्त्री राई


 


उदयपुर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई सभ्य, समृद्ध, सुसंस्कृत र विकसित बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। शनिबार गाईघाटमा सम्पन्न ‘छैठौं रमपम उदयपुर गोल्डकप प्रतियोगिता ०७६’ को समापन गर्दै मुख्यमन्त्री राईले खेलकुदको माध्यमबाट अनुशासित, गतिशील, इमान्दार र स्वस्थ नागरिकको निर्माण हुने भन्दै देशअघि बढाउन त्यस्ता सक्षम र इमान्दार जमातको खाँचो रहेको बताए।

मुख्यमन्त्री राईले ‘समृद्ध देश र सुखी नेपाली’को नारा चरितार्थ गर्न आम नागरिक अनुशासित, इमान्दार, स्वस्थ्य, विधि र नियम कानुनको पालना गर्ने खालको हुनुपर्ने आवश्यकता औंल्याए। जसरी खेलमा अनुशासन, विधि र नियम पछ्याइन्छ, त्यसैगरी देश बनाउन जनप्रतिनिधि, कर्मचारी, प्रहरी प्रशासन र आम नागरिकमा ऐन, कानुन, विधि र पद्धतिअनुसार चल्ने समाज हुन आवश्यक रहेको भन्दै राईले त्यस्तो जमातले मात्र देशविकास हुने बताए।

अहिलेसम्म देश अघि बढ्न नसक्नुमा राजनीतिक अस्थिरता मात्र नभएर अनुशासन, विधिको शासन र नियम पालना नगर्नु मुख्य कारण रहेको भन्दै उनले खेलकुदको माध्यमबाट युवा जमातलाई अनुशासित, आदर्श, नैतिकवान, स्वस्थ र चरित्रवान नागरिक बनाउन मद्दत पुग्ने भएकाले वर्तमान सरकारको ध्यान खेलकुद क्षेत्रप्रति गएको बताए। खेलकुदमार्फत देशमा स्वस्थ्य, सक्षम र अनुशासित नागरिकको निर्माण गरेर मुलुकलाई समृद्धितिर अघि बढाउन आग्रह गर्दै उनले त्यसका लागि देशका ३ तहका सरकारले संघीयताको कार्यान्वयनमार्फत मुलुकलाई समृद्ध बनाउने दृढता व्यक्त गरे।

‘मैदानका खेलाडीजस्तै इमान्दार, अनुशासित, ऐन, कानुन र नियमानुसार चल्ने जमातको देशमा खाँचो छ’, मुख्यमन्त्री राईको कथन थियो, ‘जबसम्म इमान्दार र अनुशासित जमात निर्माण हुँदैन, तबसम्म हाम्रो समाजमा बेथिति हट्नेवाला छैन।’ उनले उदयपुर गोल्डकपले राष्ट्रियस्तरका खेलाडी जन्माउने अपेक्षा लिएको बताउँदै अन्तराष्ट्रियस्तरमा खेल्न सक्ने खेलाडी जन्माउन शुभकामना दिए।

मुख्यमन्त्री राईले १ नं. प्रदेशलाई ‘फुटबलको राजधानी’बनाउने घोषणा गरिसकेको जानकारी दिँदै उदयपुर यो अभियानमा सक्रिय भएर लागेको आफूले पाएको बताए। फुटबलको विकासमा उदयपुररका खेल प्रेमीहरु दत्तचित्त भएर लागिरहेको हुनाले प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको उनको भनाई थियो। थरुहट–उदयपुर रंगशालालाई प्रदेशकै नमूना र सुविधायुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै राईले निकट भविष्यमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए।

कार्यक्रममा अखिल नेपालफुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा उदउपुर गोल्डकपका संस्थापक अध्यक्ष किरण राईले विद्यालय प्रांगणबाट ७ वर्षअघि १ लाख राशीको पुरस्कारबाट सुरु गोल्डकप अहिले सुविधासम्पन्न रंगशालामा ५ लाख राशीको पुरस्कारसहितको बनाउन सहयोग गर्ने सबैप्रति धन्यबाद दिए। उनले रंगशाला निर्माणमा त्रियुगा नगरपालिका र प्रदेश सरकारले गरेको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी वर्ष ३ वटा प्यारापिट र कम्पाउण्ड निर्माण गर्न आवश्यक बजेटका लागि मुख्यमन्त्रीसँगआग्रह गरे।

प्रदेश सांसद विमल कार्की, त्रियुगा र चौदण्डीगढी नगर प्रमुखद्वय बलदेव चौधरी र खगेन्द्र राई तथा पूर्वमन्त्री मन्जु चौधरीले खेलकुद गतिबिधि स्वस्थ र समुन्नत समाजको अभिन्न अंग भइसकेको भन्दै यसको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्