ओली-प्रचण्डबीच फोन वार्ता पनि बन्द !


 


काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवादले सचिवालय बैठकनै अनिश्चित भएको छ । विवाद बढ्दै गएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुले अन्य नेतासंग छुट्टा-छुट्टै छलफल गर्न थालेका छन् ।

सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन परिमार्जन गर्ने प्रस्ताव गरेपछि दुई अध्यक्षबीचको दुरी बढेको छ । ओलीले राजनीतिक कार्यदिशा जबज बनाउनु पर्ने प्रस्ताव गरेपछि प्रचण्डसहित पूर्व माओवादी समूहका नेता असन्तुष्ट छन् ।

ओलीको प्रस्तावपछि दुई अध्यक्षबीच थप परामर्स गर्ने भन्दै बैठक स्थगित भएको थियो । स्रोतका अनुसार पहिले दैनिक जसो भेटवार्ता वा फोनमा भएपनि कुराकानी हुने दुई अध्यक्षबीच पछिल्लो सचिवालय बैठकपछि कुराकानी हुन सकेको छैन् । प्रचण्ड चितवन गएपछि दुवै अध्यक्षबीच फोन वार्ता समेत नभएको स्रोतको भनाई छ ।

सचिवालय बैठकमा कुरा नमिलेपछि प्रचण्ड तीन दिन चितवन पुगेर मंगलबार काठमाडौं फर्किएका छन् । महासचिव विष्णु पौडेल दक्षिण कोरिया पुगेका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकको मिति टुंगो नलागेको जानकारी दिए ।

पार्टी एकताका बेला गरिएको सहमति र सचिवालय बैठकले गरेको निर्णय विपरित ओली बैठकमा प्रस्तुत भएपछि प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले ओलीको प्रस्तावको प्रतिवाद गरेका थिए ।

अध्यक्षद्वयको दुरी बढेपछि नेकपाका दोस्रो तहका नेताले आन्तरिक छलफल थालेका छन् । पूर्वएमाले र पूर्वमाओवादीका दोस्रो तहका नेताले विगतको सहमतिलाई कार्यान्वयन गर्नेगरी दबाब दिने तयारी गरेका स्रोतको भनाई छ । साभार : नागरिक खबरबाट

 

प्रकाशित मिति: १० असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्