सुदूरपश्चिमको धनगढीमा राष्ट्रिय सङ्गीत महोत्सव सम्पन्न


 


काठमाडौं असार १२ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सुप इन्टरटेन्टमेन्ट प्रा.लि., धनगढीको सहआयोजनामा असार ६ र ७ गते सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ‘राष्ट्रिय सङ्गीत महोत्सव’को आयोजना गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले उद्घाटन गर्नुभएको महोत्सवमा सात वटै प्रदेशका कलाकारहरूले भाग लिनुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशमा यस प्रकारको महोत्सव पहिलो पटक भएकोमा प्रशन्नता व्यक्त गर्दै भाषा, साहित्य, कला तथा संस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकारले प्रदेश प्रज्ञा–प्रतिष्ठान गठन गर्ने बताउनुभयो ।

सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले प्रज्ञा–प्रतिष्ठानका गतिविधिलाई बढीभन्दा बढी गाउँ–बस्तीमा लैजाने उद्देश्यले देशका विभिन्न स्थानहरूमा यस्ता कार्यक्रमहरू आयोजना गर्ने गरिएको उल्लेख गर्नुहुँदै भन्नुभयो, “यो कार्यक्रम त्यसैको सिलसिला हो ।”
प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभाग प्रमुख तथा महोत्सव संयोजक प्राज्ञ अशोक राईले यो महोत्सव अन्यत्रका महोत्सवभन्दा पृथक रहेको बताउनुभयो । उहाँले भन्न्ुभयो, “राज्यले सुदूरपश्चिमलाई विभेदका आँखाले हेरिरहेको भन्ने जनगुनासा आइरहेका बेला हामीले यस ठाउँलाई रोजेका छौँ । यो महोत्सव यसकारण पनि अर्थपूर्ण छ कि हामीले राष्ट्रिय भावधारा, मानवीय चेतना र सामाजिक मूल्यमान्यतामा आधारित गीत–सङ्गीतलाई महोत्सवका लागि चयन गरेका छौँ ।”

कार्यक्रममा जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, सांसद रतन थापा, सांसद पूर्णा जोशी, धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वड, महोत्सवका स्थानीय संयोजक भुवन रिजालले धनगढीमा यस प्रकारको महोत्सव आयोजना गरेर सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानले प्रदेशस्तरमै ऊर्जा सञ्चार गरेको विचार व्यक्त गर्नुभएको थियो ।

विविध सांस्कृतिक झाँकीसहित आरम्भ भएको महोत्सवमा प्रदेश एकबाट सञ्जय तुम्रोक, दुईबाट विश्वनाथ झा, आकाश थापा, तीनबाट लक्ष्मी गुरुङ, गण्डकीबाट सन्तोष बस्याल, पाँचबाट विपिन घिमिरे, कर्णालीबाट जीवन बडु, कृष्ण सिराडी, सङ्गीता चौधरी, ध्वज महरा, मन्जु महता, नीरज बिक, सुशीला बुढाथोकी र डिल्लीराज पन्तले गीत प्रस्तुत गर्नुभएको थियो । अतिथि कलाकारका रूपमा प्राज्ञ सभा सदस्य चाँदनी मल्ल, जीवन शर्मा, लोचन भट्टराई र अर्जुन बस्नेतले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।

महोत्सवको दोस्रो दिन ‘नेपाली गीत–सङ्गीतमा सुदूरपश्चिमको योगदान’ विषयमा सङ्गीत विमर्श आयोजना गरिएको थियो । प्राज्ञ सभा सदस्य नरेन्द्र रेग्मीको सभापतित्व र खगेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सङ्गीत अन्वेषक हेमन्त विवशले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि डा. पुष्करराज भट्टले टिप्पणी गर्नुभएको थियो ।

प्रकाशित मिति: १२ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्