नेपाल टेलिकमले ल्यायो यस्तो नयाँ नि : शुल्क सेवा


 


काठमाण्डौँ । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी ‘ एन टि सूचनाको संसार’ सेवा आइतबारबाट उपलब्ध गराएको छ ।

यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिने जनाएको छ ।

नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ । यसरी कल गर्दा मोबाइल प्रयोगकर्ताहरु नेपाली भाषाको माध्यमबाट सूचनाको संसारमा जोडिन सक्छन् ।

यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत् तयारी जस्ता विषयमा आवश्यक जानकारी लिन सकिन्छ ।सार्वजनिक सेवाका लागि आवश्यक यस सम्बन्धी विभिन्न जानकारीहरु भियामोले विभिन्न विशेषज्ञहरुको सहयोगमा तयार पारेको हो ।

यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञहरु समेत संलग्न छन् । विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले यो सेवाबाट कुनै पनि उमेर समूहका साक्षर वा निरक्षर सबै नेपाली लाभान्वित हुने विश्वास गरिएको छ ।

निकट भविष्यमा सुशासन र आर्थिक साक्षरतालगायतका थप शीर्षकहरु समेत यसमा समावेश गरिने नेपाल टेलिकमले जनाएको छ । यो सुविधा हाललाई ६ महिनाको लागि निःशुल्क उपलब्ध गराइएको हो ।

प्रकाशित मिति: १५ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्