न्वारनको भोज खाँदा ३५ बढी बिरामी
गोरखा । न्वारनको भोज खाँदा गोरखामा ३५ भन्दा बढी बिरामी परेका छन् ।शहिद लखन गाउँपालिका–६ घैरुङ बतासेमा न्वारनको भोज खाँदा ३५ जना भन्दा बढी बिरामी परेका हुन् ।
सोमबार स्थानीय फुल माया श्रेष्ठको घरमा न्वारणको भोज खान गएका अधिकांश बिरामी परेका हुन् । सोमबार भोज खान गएका स्थानीयहरुमा मंगलबारबाट पखाला लाग्ने,ज्वरो आउने जस्ता समस्या देखिएको थियो । उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार बिरामी परेका सबैले कुखुराको मासु खाएको बताएका र नखानेलाई केहि नभएअनुसार मासुबाटै फुड पोइजन भएको हुनसक्ने अनुमान गरिएको छ ।
गाउँलेहरु बिरामी परेको खवर प्राप्त भएपछि घैरुङ स्वास्थ्यचौकी र गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी गाउँमै पुगेर उपचारमा खटिएका छन् ।हाल बिरामीहरुको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।