आज हरिशयनी एकादशी : तुलसी रोपेर चतुर्मास व्रतको आरम्भ गरिँदै


 


काठमाडौं । आज हरिशयनी एकादशी अर्थात ठूलो एकादशी । हिन्दू धर्ममा यस दिनलाई अति विशिष्ठ र महत्वका साथ हेर्ने र लिने गरिन्छ । आजको दिन नै घरघरमा तुलसी रोपेर आम हिन्दूहरुले चतुर्मास व्रतको आरम्भ गर्दै भगवान विष्णुको उपासना गर्ने गर्छन । भनिन्छ आजको दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीर सागर सुत्न जानु हुन्छ । उहाँ चार महिना पछि हरिबोधनी एकादशीको दिन क्षीरसागरबाट उठनु हुने विश्वास गरिन्छ ।

आज घरघरमा हिन्दू धर्मावलम्बीहरुले तुलसी रोपेर भगवान श्री हरि अर्थात विष्णुको पूजा आराधना गर्ने गर्छन । चतुर्मास अवधिभर बिभिन्न व्रत तथा तीर्थ गरे पूण्य मिल्ने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरु कठोर उपासनामा बस्ने पनि गर्दछन । तुलसीलाई भगवान विष्णुको वानस्पतिक स्वरुपकोरुपमा पनि लिने गरिन्छ ।

हिन्दू समाजमा तुलसीको महत्व

हिन्दू मान्यता अनुरुप हरेकको घर आँगनमा तुलसी रोप्न अनिवार्य झै मानिन्छ । हिन्दू धर्म शास्त्रमा उल्लेख भए बमोजिम तुलसीलाई पूजनीय , पवित्र र देवीको स्वरुपमा लिने र पूज्ने गरिन्छ । घरमा तुलसी रोपेपछि १० कुरामाथि विशेष ध्यान पु¥याउन आवश्यक मानिन्छ । तुलसी रोपिएको घरमा सबै देवी देवताको विशेष कृपा रहने विश्वास पनि गरिन्छ । घरमा सकारात्मक र सुखद उर्जाको स्रोतकोरुपमा तुलसीलाई लिने गरिन्छ । तुलसी रोपिएको घरमा धनको कमी नहुने र परिवारका सबै सदस्यलाई स्वास्थ्य लाभ हुनेसम्मको विश्वास समेत गरिन्छ । शास्त्रमा उल्लेख गरिएका तुलसीको खास महत्व यस्ता छन् ।

१.तुलसीको पात कहिले पनि चपाउनु हुँदैन

तुलसीको सेवन गर्दा ध्यान दिनु पर्ने महत्वपूर्ण कुरा यस्को पातलाई कहिले पनि दाँतले चपाउनु हुँदैन । सीधै निल्नु नै उत्तम मानिन्छ । यसरी तुलसीको पातको सेवन गर्दा धेरै रोगहरुबाट मुक्ति पाउने विश्वास गरिन्छ । तुलसीको पातमा पारा धातु भन्ने तत्व रहने हुँदा यसलाई रोग विनाशक मानिन्छ । यदि यस्को पात दाँतले चपाएर निलेको खण्डमा दाँतको लागि भने हानीकारक मानिन्छ । त्यसैले पनि पात नचपाई सर्लक्कै निल्नु नै उचित मानिन्छ ।

२. शिवलिंगमा तुलसी कहिल्यै पनि चढाउनु हुँदैन

शिवपुराणमा उल्लेख भए अनुसार शिवलिंगमा कहिले पनि तुलसीको पात चढाउनु हुँदैन । यसको बारेमा एउटा कथा कोरिएको छ । कथाका अनुसार सत्ययुगमा दानव राजा शंखचुडकी धर्मपत्नीको नाम तुलसी थियो । तुलसीको पतिब्रत धर्मको शक्तिका कारण सबै देवी देवता शंखचुडलाई हराउन असमर्थ थिए । त्यही कारण भगवान विष्णुले छल गरेर तुलसीको प्रतिबत धर्म भंग गरिदिए । त्यसपछि भगवान शिव शंखचुडलाई बध गर्न सफल भए ।

जब यो रहस्य तुलसीलाई थाहा भयो तब उनले भगवान विष्णु ढुंगा अर्थात पत्थर र झार हुने श्राप दिइन । त्यो श्रापलाई स्वीकार गरेर भगवान विष्णु नेपाल र विशेषत गण्डकी क्षेत्रमा रहनु भएको विश्वास गरिन्छ । त्यसै पनि भगवान विष्णुको पत्थररुप शालीग्राम कालीगण्डकी नदी आसपासमा मात्र पाइने गरिन्छ । जुन सत्यलाई संसारका हिन्दूले स्वीकारेका छन् । अर्को श्राप झार हुनु परोस भनेर दिएपछि भगवान विष्णु तुलसीको वृक्ष बनेर रहनु भएको विश्वास गरिन्छ । यसपछि अधिकांश पूजाआजामा तुलसीको उपयोग विशेषरुपमा गरिन्छ । तर शंखचुडको पत्नी भएको कारण तुलसीको पात शिवलिंगमा भने कहिल्यै पनि चढाइदैन ।

३. तुलसीको पात विशेष दिन चुँडनु हुँदैन

तुलसीको पात केही खास दिन भने चुँडनु हुँदैन । एकादशी, आइतबार , सूर्य र चन्द्रग्रहण लागेको समयमा तुलसीको पात दिन वा रात जतिखेर चुँडे पनि अनिष्ट हुने मान्यता छ । विना कारण तुलसीको पात कहिले पनि चँुडनु उचित मानिन्न । अनावश्यकरुपमा तुलसीको पात चुँडे तुलसीको वृक्ष नष्ट गरे बराबरको पाप लाग्ने मान्यता छ ।

४. हरेक दिन तुलसीको पूजा गर्नु फलदायी

हरेक दिन तुलसीको पूजा गर्नु उत्तम र लाभदायी मानिन्छ । हरेक साँझ तुलसीको मठमा दियो जलाउनु पर्छ भन्ने मान्यता समेत रहिआएको छ । यसो गर्दा माता महालक्ष्मीको कृपा सदैव रहने विश्वास छ ।

५.घरको वास्तु दोषको समाप्ती

तुलसी लगाउनाले घरको वास्तु दोष हट्ने विश्वास गरिन्छ । घर आँगनमा तुलसी लगाउँदा वास्तु दोष समाप्त भएर जाने विश्वास गरिन्छ । तुलसी रोप्नाले परिवारको आर्थिक स्थितिमाथि पनि शुभ प्रभाव पर्ने मान्यता छ ।

६.तुलसी रोपिएको घरमा खराब नजर समेत पर्दैन

तुलसी लगाएको घरमा कसैको पनि खराब नजर नपर्ने मान्यता छ । साथै घर आसपासमा कुनै पनि प्रकारको नकारात्मक उर्जा पनि नपलाउने र सकारात्मक उर्जा वृद्धि हुने विश्वास गरिन्छ ।

७.तुलसीले वातावरण पनि पवित्र बनाउछ

तुलसी लगाइएको घर वरपरको वातावरण पनि पवित्र हुने मान्यता छ । तुलसी लगाउनाले हानिकारक सुक्ष्म किटाणुहरुले पनि घरमा वास पाउँदैनन । यही पवित्रताले घरमा माता लक्ष्मीको वास सहज हुने विश्वास गरिन्छ जस्को कारण घरको सुख र समृद्धिमा वृद्धि हुने मान्यता चलिआएको छ ।

८.घरमा तुलसीको सुख्खा वृक्ष नराख्नु

घरमा भएको तुलसीको मठमा तुलसीको वृक्ष केही कारण सुकेको खण्डमा त्यसलाई घरमा राख्नु उचित मानिन्न । तुलसीको वृक्ष सुकेको खण्डमा त्यसलाई पवित्र नदी तथा तलाउमा प्रवाहित गरिदिनु पर्छ । तुलसीको सुकेको वृक्ष राखे घरमा अशुभ हुने मान्यता छ । तुलसीको वृक्ष सुकेको खण्डमा अर्को स्वस्थ्य वृक्ष राख्ने सुझाव शास्त्रमा दिइएको छ ।

९.तुलसी आयुर्वेदको सञ्जीवनी बुटीका समान

आयुर्वेदमा तुलसीलाई औषधि अर्थात सञ्जीवनी वुटी समान मानिएको छ । तुलसीमा पाइने यस्ता धेरै गुण छन जस्ले धेरै विमारीहरुलाई टाढा राख्न सहयोग गर्छ र धेरै रोगहरुका लागि प्रतिरोधात्मक क्षमता तुलसीको पातमा हुन्छ । तुलसीको वृक्ष घरमा लगाउनाले तुलसीको वास्ना हावामा फैलदा विरामी फैल्याउने धेरै किटाणुहरु यस्को क्षमताले नष्ट हुन जान्छन ।

१०.तुलसीको पात सेवन गर्दा हुने फाइदा

विशेष दिन बाहेक अन्य दिन चुँडेर राखेको तुलसीको पात हरेक दिन सेवन गर्दा श्वासप्रश्वाससंग सम्बन्धित सबै रोगहरुबाट छुटकारा पाइने मान्यता छ । तुलसीको पात सेवन गर्दा विरामी हुनबाट वच्न सकिन्छ भने मौसम परिवर्तनबाट हुने विमारहरुबाट पनि बच्न सकिन्छ । तुलसीको पातमा हुने औषधीय गुणले मानिसको शरीरमा हुने रोग प्रतिरोधात्मक शक्तिलाई थप बढाउने हुँदा हरेक दिन तुलसीको पात सेवन गर्न उत्तम मानिन्छ ।

यो पनि भनिन्छ तुलसी भगवान कृष्णको अति प्रिय वस्तु मध्ये एक हो । त्यसैले पनि प्रतिदिनको पूजामा भगवान कृष्णको चरणमा तुलसीको दल या तुलसीको पात अर्पण गर्नु शुभ मानिन्छ । तुलसीको पात अर्पण गर्दा ‘तुलसी कृष्ण प्रेयसी नमो नमः नामक मन्त्रोचारण गर्नु पर्ने मान्यता छ हिन्दू धर्म शास्त्रमा रहेकाे छ।

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्