डुबानमा विराटनगर, बाजुरामा पहिरो


 


विराटनगर। लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन्। कोशी अञ्चल अस्पताल डुबेको छ। सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन्। आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ। ढलको निकास नगरी सडक उच्च बनाइदिँदा अस्पतालभित्र पानी पसेको हो।

अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको छ। प्रदेश–१ को सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको कोशी अस्पतालमा दैनिक १ हजारभन्दा बढी सेवाग्राही उपचारका लागि आउने गरेका छन्।

बाजुरामा पहिरो

यसैबीच, त्रिबेणी नगरपालिका वडा नं ९ पैंमाको पहिरो खस्ने क्रम जारी छ। पहिरोकै कारण बूढीगंगा नदी थुनिँदै आएको छ। बुधबार साँझबाट निरन्तर झरी परेका कारण पहाड खस्ने क्रम बढेको छ। बूढीगंगा नदी थुनिँदा नदीकिनार आसपासका जनता त्रसित छन्।

साँफे–मार्तडी सडक खण्ड अवरुद्ध हुने त्रासले लामो तथा छोटो दूरीका यातायातका साधन बल्देमै रोकिएका छन्। सडक तलबाट पहिरो जान थालेकाले बस बल्देमै रोक्नुपरेको बस व्यवसायीले बताए। बल्देबाट सदरमुकाम मार्तडीसम्म करिब १७ किलामिटर बाटो साना सवारीसाधान प्रयोग गर्नुपर्ने अवस्था आएको छ। सुदूरपश्चिमकै सुप्रसिद्ध तीर्थस्थ बडिमालिका जाने मूलबाटो पहिरोमा परेको छ भने करोडौं मूल्य बराबरको वन–जंगल नाश भएको छ।

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्