वाह ओली सरकार ! अब पेट्रोलियम पदार्थ भारतबाट पाइपलाईनमार्फत सिँधै नेपालमा


 


काठमाण्डौ । भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ नेपाल ल्याउन सुरु भएको छ । बुधबार दिउँसो १२ बजेदेखि बिहारको पटनाबाट पाइपमा तेल पठाउन सुरु गरिएको र बिहीबार मध्य रातिसम्म पाइप भरिँदै बाराको अमलेखगञ्जसम्म आइपुग्ने डिपोका प्रमुख प्रदीप यादवले उज्यालोलाई जानकारी दिनुभयो ।

पाइप भरिन २१ सय किलोलटर अर्थात २१ लाख लिटर तेल लाग्नेछ । सुरुमा पाइप भरेर राखेपछि पछि भारतमा एक क्लिक गरेपछि क्षणभरमै नेपालमा तेल आउनेछ । नेपालमा डिजलको माग धेरै भएकाले पहिलो चरणमा पाइपलाइनमार्फत डिजल मात्रै ल्याइनेछ । अहिले अमलेखगञ्ज डिपोको दैनिक माग २० लाख लिटर रहेकोमा पाइपलाइनबाट एक घण्टामै २ लाख लिटर डिजल नेपाल आउने छ ।

पाइपलाइन २४ घण्टा नै चलाएमा एकै दिन ४८ लाख लिटर डिजल नेपाल आउने र यसले नेपालको माग धान्ने सकिने निगमले जनाएको छ । पाइपलाइनबाट आउने डिजल भण्डारनको लागि अमलेखगञ्जमा ४१ लाख लिटर क्षमताका २ ओटा र ३९ लाख लिटर क्षमताका २ ओटा गरी १ करोड ६० लाख लिटर क्षमताका ४ वटा अत्याधुनिक टयांकी निर्माण भैसकेका छन् ।

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्नका लागि अमलेखगञ्जमा कन्ट्रोल रुम निमार्णको काम पनि अन्तिम चरणमा पुगेको छ । कन्ट्रोल रुम बन्न ढिलाइ हुने भएकाले सुरुमा मान्छेले नै पाइलाइनको व्यवस्थापन गर्ने पनि अमलेखगञ्जका डिपो प्रमुख यादवले जानकारी दिनुभयो ।

अहिले पाइपलाइन भरेर राखे पनि नियमित तेल भने ल्याइने छैन । भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीले एकैपटक स्विच थिचेर उद्घाटन गर्ने गरी तयारी भैरहेको निगमले जनाएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्