यो सरकारको विरुद्धमा अर्को जनआन्दोलन गर्नुपर्ने आवश्यकता छः सीपी गजुरेल


 


काठमाडौं, ३ साउन । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आइसकेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै गजुरेलले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार र विप्लबवीचको वार्तालाई लिएर नेपाली जनता अहिले असाध्यै दुविधामा रहेको पनि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ । दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरु आएका छन् । तर, जनता भने पूरै कन्फ्युजनमा छन् । साँच्चै वार्ता होला त भनेर ?’

उहाँले भीडन्तहरु हुँदै गए देश आन्तरिक गृहयुद्धमा रुपान्तरण हुने खतरापनि औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थिति ल्याउनको लागि ओलीजीको सरकार जिम्मेवार छ ।’ उहाँले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु नै गलत भएको पनि टिप्पणी गनुभयो । गजुरेलले भन्नुभयो, ‘प्रतिबन्ध लगाउनु नै हुँदैन थियो । संविधानमा पनि यो कुरा निषेध गरिएको छ ।’

एनसेलको मुख्यालयमा भएको प्रेसर कुकर बमकाण्डलाई लिएर सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘घट्ना हुनु दुःखद् हो । त्यस घट्नामा संलग्न दोषीलाई बरु अदालती कारबाही गरेको भए हुन्थ्यो ।’

उहाँले सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राखे हुन्छ भन्ने अभिव्यक्ति पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैगयो नि । तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन् । यो गलत छ ।’

गजुरेलले सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्नसमेत बन्देज लगाएकोमा आक्रोश पोख्नुभयोे । उहाँले भन्नुभयो, ‘सरकारले शान्तिपूर्ण कार्यक्रम पनि गर्न दिएन । विप्लवजीहरुसँग कि त राजनीति छोड्नुपर्ने विकल्प हुन्छ कि त भूमिगत हुनुपर्ने । होइन भने बादलहरुजस्तै आत्मसमर्पण गर्नुपर्ने थियो । तर, राजनीति गर्नेले त्यसो गर्दैन् । भूमिगत भएर पनि राजनीति सञ्चालन गर्नुपर्छ ।’

वर्तमान सरकारले सुनियोजित ढंगले अहिलेको परिस्थिति सिर्जना गरेको उहाँको गम्भीर आरोप छ । अहिले सरकारले फेक इन्काउन्टरको नाममा निहथ्था नागरिकको ज्यान लिने काम गरेको पनि गजुरेलको आरोप छ । उहाँले भन्नुभयो, ‘यस्तो खालको हत्या त जनयुद्ध र पञ्चायताकालिन अवस्थामा पनि हुँदैनथियो ।’

ओली सरकारले अहिले मुलुकमा फाँसीवाद लागू गरेको पनि उहाँले गम्भीर टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘दुई तिहाई बहुमत भएको सरकारले चुनावको बेला गरेको नारा पनि पुरा गर्न सकेको छैन । जे–जे गर्छु भनेर चुनावको बेला बोलेको थियो, ठीक त्यसको उल्टो गरेको छ ।’

सरकारले सुरुमै जनतालाई महँगी उपहार दिएको पनि उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘त्यतिमात्रै होइन, तीन तहमा कर बढायो । अब त जन्मिनपनि डर लाग्न थाल्यो । र, मर्नपनि डराउनुपर्ने भयो । जन्मेदेखि मृत्युसम्म कर तिर्नुपर्ने भयो ।’

त्यस्तै, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि उहाँले आरोप लगाउनुभयो । उहाँले थप्नुभयो, ‘साँढे तेत्तिस केजी सुन प्रकरणमा पनि यो सरकारले अहिलेसम्म एकजनालाई पनि कारवाही गर्न सकेन । अहिले त जनताले त्यो सुन गृहमन्त्रीसँग छ भन्नेखालको अनुमान गर्न थालिसकेका छन् ।’

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्