जम्मु–कास्मिर लगिँदै गरेका उर्लाबारीका १० जनाको उद्धार, तीन जना पक्राउ


 


उर्लाबारी, साउन ३

भारतको जम्मु–कास्मिरमा लगिँदै गरेका मोरङको उर्लाबारी नगरपालिका – ४ का १० जनालाई नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।

आकर्षक रोजगारीको प्रलोभनमा पारेर लैजाँदै गरेका उनीहरुलाई सुनसरीको घुस्की नाकाबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा दुई युवती र आठ युवक छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीले जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरेर भारत लैजान लाग्दा उनीहरुको बिहिवार साँझ उद्धार गरेको हो ।

उर्लाबारी नगरपालिका–४ घर भएका सबै जनालाई अभिभावकको जिम्मा लगाएर पठाइएको छ । मासिक भारतीय १७ हजार रुपैयाँ र ओभर टाइम गर्दा राम्रो कमाई गर्न सकिने भन्दै प्रलोभनमा पारेर सबै जनालाई सामूहिक रुपमा जम्मु–कास्मिर लैजान लागिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

उनीहरुलाई नेपालबाट कास्मिर लैजान खोज्ने तीन जनालाई पनि पक्राउ गरिएको उहाँको भनाइ छ । पक्राउ पर्नेमा उर्लाबारी–४ का ४८ वर्षीय पुड्का उराव, उनकी श्रीमती ४५ वर्षीय फूलकुमारी उराव र सुनसरीको हरिनगरा–७ का ४० वर्षीय अफिज अन्सारी रहेका छन् । पक्राउ परेका तीनै जनालाई आज जिल्ला अदालत मोरङमा मानव बेचबिखन मुद्धामा म्याद थप गरेर अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्