मन्त्री पण्डितको पुत्ला दहन


 


इटहरी । लोकसेवा आयोगले खुलाएको विज्ञापनमा देशमा समावेशी सिद्धान्तको कोटा कम भएको भन्दै आदिवासी जनजाती महांसघले इटहरीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरेको छ ।

इटहरीको मुख्य चौकमा शुक्रबार मन्त्री पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला दहन गरेको हो । आदिबासी जनजाती महासंघका प्रदेश १ अध्यक्ष धुब्र लिम्बुले आन्दोलन गर्नु कुनै रहर नभएको र आँफूहरु बाध्यताका कारण आन्दोलनमा उत्रनुपरेको बताए । ‘देशमा आदिबासी जनजातीहरुले ९५ प्रतिसत ल्याउँदा समेत लोकसेवामा जागिर खान नपाइराखेको अवस्था छ,’ उनले भने, ‘अन्य मानिसहरुले ५० प्रतिसत ल्याउँदा मात्रै पनि जागिर खाने अवस्था छ, खोई समावेशी सिद्धान्त ?’ उनका अनुसार आफूहरुले शनिबार लोकसेवा आयोगका बिरुद्ध प्रदेश १ बन्द गर्ने चेतावनी दिए । उनले संबैधानिक लोकको अधिकार प्रत्याभूत गरेमा आफूहरु आन्दोलन नगर्ने बताउँदै उत्पीडित समूदायहरु आन्दोलनमा उत्रनु बाध्यता रहेको बताए ।

परिवर्तनबाट स्थापित सकारात्मक विभेद (आरक्षण) लाई निस्तेज पार्ने नियतले आएको विज्ञापनको विरोधमा महांसघले शनिबार बन्द गर्ने कार्यक्रम अगाडि सारेको लिम्बुको भनाई रहेको थियो । उनले लोकसेवा आयोगले समावेशी सिद्धान्तको कोटा नबढाए थप आन्दोलनको कार्यक्रम गर्ने चेतावनी दिए । ‘संघीयता र समानूपातिक समाबेशी सिद्धान्तको मर्म विपरीत लोकसेवा आयोगले विज्ञापन गरेको छ,’ लिम्बुले भने, ‘हामी आदिबासी जनजातीहरुलाई राज्यले विभेद गर्दै गएमा हामी थप संघर्षका साथ सडकमा उबन बाध्य हुनेछौँ ।’

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्