मेची राजमार्ग आंशिक रुपमा सञ्चालन


 


पाँचथर, साउन ५

पहिरो झरेपछि अवरुद्ध बनेको मेची राजमार्गको राँके–फिदिम खण्ड आजदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ मा पर्ने पाङ्ग्रेभिरमा पहिरो खसेर गत बुधबारदेखि अवरुद्ध बनेको मेची राजमार्ग आइताबारदेखि आंशिक रुपमा खुलेको हो । सडकमा झरेको पहिरो पन्छाइएसँगै आंशिक रुपमा सडक खुलेको प्रजिअ मुरारी वस्तीले जनाएका छन् ।

अझै सडकभन्दा माथि ठूलो परिमाणमा पहिरो रहेकाले विशेष सतर्कताका साथ सवारी आवत–जावतको व्यवस्था मिलाइएको प्रजिअ वस्तीले बताएका छन् । पाङ्ग्रेभिरमा सडकबाट स्काभेटरले भेटेसम्म पहिरो हटाउने कार्य सकिएसँगै आज करीब पाँच दर्जन सवारीले पहिरो पार गरेका थिए ।

पहिरोको वारिपारि रोकिएका पेट्रोलियम पदार्थ, खाद्यान्न तथा कृषि उपज बोकेका सवारी साधन पार गराइएको प्रजिअ वस्तीले वताउनुभयो । “सडकमाथि ठूलो परिमाणमा पहिरो अडिएको छ । कतिबेला झर्छ भन्ने टुङ्गो हुँदैन”, प्रजिअ वस्तीले भन्नुभयो, “झरेको पहिरो पन्छाउँदै सवारी आवागमन सञ्चालन गर्ने प्रयत्न भइरहेको छ ।”

पहिरो जुनसुकै बेला झर्न सक्ने भएकाले दुई वटा स्काभेटर तयार अवस्थामा राखिएको छ भने आवश्यक सतर्कताका लागि उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सडकलाई दिउँसो मात्रै सञ्चालन गर्ने तयारी गरिएको छ । “पहिरो झरिसक्न कैयौँ दिन लाग्ने देखिन्छ । ठूलो वर्षा भए अझै पहिरो खस्न सक्छ”, प्रजिअ वस्तीले भन्नुभयो, “रातको समयमा सडक सञ्चालन गर्न तत्काल सम्भव छैन ।” जिल्ला विपत् व्यवस्थापन समिति पाँचथरले पाँचथर र इलाममा उपलब्ध सम्पूर्ण स्रोत र साधनको उपयोग गरेर सडक सञ्चालन गर्ने प्रयत्न गरिरहेको उहाँको भनाइ छ ।

यस्तै पहिरोबाट सडक लामो समय अवरुद्ध हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै यहाँ नौ किलोमिटर लामो वैकल्पिक सडक स्तरोन्नतिको कार्य शनिबारदेखि शुरु भएको छ ।

मेची राजमार्गको गुम्बाडाँडाबाट निवु खोला हुँदै राँके बजार जोड्ने उक्त सडकको स्तरोन्नतिको कार्य अघि बढाइएको प्रजिअ वस्तीले जानकारी दिनुभयो । उक्त सडकको ४।५ किलोमिटरमा साना सवारीका साधन निर्बाध सञ्चालन भए पनि बाँकी खण्डमा वर्षाका कारण समस्या भएकाले ढुङ्गा सोलिङ थालिएको छ । उक्त सडक सोमबारसम्ममा सञ्चालनमा आउने प्रजिअ वस्तीको भनाइ छ ।

पाङ्ग्रेभिरमा बुधबार राति पहिरो झरेपछि बिहीवार, शुक्रबार र शनिबार सवारी आवागमन ठप्प भएको थियो । यात्रुहरुले करीब ३० मिनेट पैदल यात्रा गरेर करीब एक किलोमिटर मुनिबाट पहिरो पार गर्दै आएका थिए । पहिरोको दुवैतर्फ रहेका सवारीका साधनले यात्रुलाई गन्तव्यमा पुर्याइरहेका थिए । पहिराका कारण पाँचथर, ताप्लेजुङ र पूर्वी तेह्रथुममा उत्पादित कृषि उपज सवारीका साधनमै कुहिने अवस्था आएको थियो । रासस

प्रकाशित मिति: ५ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्