देउवासँग चुनाव हारेका भट्टले भने – ‘केन्द्रीय सदस्य छोड्छु, तर जिल्ला इन्चार्ज बस्दिँन’


 


डडेल्धुरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले आइतबार जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेसँगै केहीले जिल्ला इन्चार्ज स्वीकार गर्ने प्रतिक्रिया दिएका छन्।नेकपाले डडेल्धुरा इन्चार्ज तोकिएका केन्द्रीय समेत रहेका खगराज भट्टले जिल्ला इन्चार्ज अस्वीकार गरेका छन्।

सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापालाई सन्देश पठाएर जुनियरको मातहत इन्चार्ज नबस्ने बरु केन्द्रीय सदस्य नै त्याग्ने घोषण गरेका हुन्। ‘बरु केन्द्रीय सदस्य छोडिदिन्छु, तर जिल्ला इन्चार्ज बस्दैन’ उनले भने,‘यो अत्यन्त अपराधी र पाखन्डी मानसिकताबाट पठाइएको सिफारिसबाट भएको निर्णय हो।’ ‘जुनियर मातहत इन्चार्ज बस्नु मेरो क्षमता, योग्यता, त्याग, समर्पण, निष्ठा र बलिदानको अपमान हो’ उनले थपे, ‘सचिवालयले दिएको इन्चार्ज खानुपर्ने हो भने केन्द्रीय सदस्य त्याग्न तयार छु।’

आफू २०६० सालदेखि केन्द्रीय सदस्य रहेर जिम्मेवारी पूरा गरेको र अहिले पहिलोपटक अपमानित महसुस गर्नु परेको उनको भनाइ छ। ‘जुनियरलाई नेता बनाएर उनको मातहत हामीलाई राख्ने कोशिसअन्तर्गत मलाई जिल्ला इन्चार्ज राख्ने सिफारिस भयो। यसको प्रतिवाद हो यो’ उनले भने, ‘चुनावका बेला कांग्रेस प्रवेश गरेकालाई अहिले नेकपाको नेता बनाइएको छ।

चुनावमा शेरबहादुरलाई जिताउने खेल त भित्रबाट हुने रैछ भन्ने बुझें मैले।’ नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग तीन पटक चुनाव लडेर थिए। उनले तीन पटक नै पराजय भोग्नु परेको थियो।

प्रकाशित मिति: ५ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्