आफुमाथि लगाएका सबै आरोप कपोकल्पित भएको मेयर फागोको दाबी


 


उर्लाबारी, साउन ७

मोरङको उर्लाबारी नगरपालिकामा मेयर र उपमेयरबीच तिब्र विवाद देखिएको छ । पछिल्लो कार्यपालिका बैठक र नगरसभाका विषयमा मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीबीच जुहारी नै चलेको छ ।

उपमेयर भण्डारीले हिजो आफ्नो कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै मेयर फागोले एकलौटी ढंगले निर्णय गरेको र महालेखा परीक्षण कार्यालयका प्रतिवेदन उर्लाबारीका जनतासमक्ष सार्वजनिक गर्न माग गर्नुभएको थियो भने आज मेयर खड्ग फागोले पत्रकार भेटघाटको आयोजना गर्दै आफुमाथि लगाएका सबै आरोप कपोकल्पित भएको बताउनुभएको छ ।

नगरपालिकाको बेरुजु रकम जनप्रतिनिधि आउनुभन्दा अगाडी देखिकै रहेको बताउँदै उहाँले क्रमश : रुपमा फरच्यौट हुने क्रममा रहेको स्पष्ट पार्नुभयो । उहाँले पदाधिकारीको नाममा रहेको ३३ लाख ८ हजार बेरुजुमा १८ लाख ३९ हजार रकम फरच्यौट भईसकेको स्पष्ट पार्नुभयो । बिभिन्न सामान खरिदमा भने बेरुजु देखिएको र त्यस सामाग्रीको अनलाईन सफ्टवेरमा हालिसकेपछि फरच्यौट हुने नगरपालिकाका जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिनाले बताउनुभयो ।

मेयर फागोले कार्यपालिका बैठकमा पटक–पटक अवरोध सिर्जना गर्ने काम भएको र अन्तिम अवस्थामा प्रदेशको कानून अनुसार एक तिहाई सदस्यको उपस्थितिमा निर्णय गरेको स्पष्ट पार्नुभयो । उहाँले नेपालको संबिधान र कानून बाहिर गएर गर्ने निर्णय कसैलाई नभएको भन्दै बिधिसम्मत नै आफु अघि बढिरहेको दाबी गर्नुभयो । उहाँले उपमेयर भण्डारीसहित न्यायिक समिति सदस्य शोभितमाया तामाङ र निरोज तिम्सनाले दोहोरो सुबिधा लिएको देखाउनुभयो । न्यायिक समितिको बिभिन्न वडामा भएको तालिममा उहाँहरुले सेवासुबिधा लिएको देखाउनुभएको थियो ।

मेयर फागोले कार्यपालिकाको बिभिन्न उपसमितिको बैठक नबस्दा कार्यपालिका बैठक पनि प्रभाबित भएको बताउनुभयो । उपसमितिले काम नगर्दा कार्यपालिका बैठक बस्न नसकेको बताउनुभयो । उहाँले बिभिन्न वडाबाट आएको माग अनुसार मर्मत सम्भार कोषको रकम खर्च गरिएको स्पष्ट पार्नुभयो ।

कर्मचारीहरुले कागजात तयार पार्ने क्रममा ढिलाई हुँदा समयमै कार्यपालिका बैठक बस्ने नसकेको स्विकार गर्दै उहाँले रातको १२ बजेपनि बैठक बस्न सक्ने बताउनुभयो । उहाँले नगरसभाका क्रममा स्वतन्त्र उर्लाबारीबासी बजेट र कार्यक्रमका विषयमा चासो दिएर आएकाले तरुण दलका कार्यकर्ता ल्याएर शक्ति प्रदर्शन गर्यो भन्ने आरोप निराधार रहेको बताउनुभयो ।

प्रकाशित मिति: ७ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्