इटहरीका मेयर चौधरीले भने – गाउँगाउँमा विकासको लहर छाएको छ
इटहरी । इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले इटहरीका गाउँगाउँमा विकासको लहर छाएको दाबी गर्नुभएको छ । एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजीनामा दिने समेत बताउनुभयो ।
इटहरीमा सडक निर्माणको कामले गाउँ(गाउँमा तीव्रता लिएको पनि बताउनुभयो । ‘इटहरीका ११ वटा सडक बहुवर्षीय योजना अनुरूप निर्माण हुँदैछन् । ती सडक निर्माण पछि गाउँ र मुख्यसडकलाई पिच बाटोले जोडने छ ।’ मेयर चौधरीले भन्नुभयो ।
उपमहानगरका गाउँगाउँका जनतालाई पनि उपमहानगरवासी भएको अनुभूति दिलाउने गरी गाउँका मुख्य(मुख्य बाटोलाई कालोपत्रे गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । ‘काम गर्न समय लाग्छ’, प्रमुख चौधरीले भन्नुभयो ‘तुरुन्तै कामको परिणाम नदेखिन सक्छ तर केही समयमै इटहरीमा विकासको नयाँ उचाइ प्राप्त हुने गरी काम भइरहेको छ ।’
गत वर्ष इटहरी उपमहानगरले करिब सात सय योजना सडक निर्माणको सञ्चालन गरेको थियो । चालु आर्थिक वर्षमा पनि भौतिक संरचना निर्माणलाईनै प्राथमिकता दिएको छ ।
उहाँले वाह्य चक्रपथका लागि सहयोग गर्न सङ्घ र प्रदेश सरकारसँग आग्रह पनि गर्नुभयो । इटहरी उपमहानगरले सो चक्रपथको डिपिआर निर्माणका लागि तीन करोड रुपैयाँ छुट्याएको छ ।
इटहरीलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि योजना तयार भइरहेको प्रमुख चौधरीले बताउनुभयो । व्यक्तिले भोगचलन गरेका करोडौमूल्य पर्ने पोखरीहरू उपमहानगर मातहत ल्याएको,सार्वजनिक जग्गा खोजी अभियानलाई तीव्रता दिएको सुनाउनुभयो ।
उहाँले आफू उपमहानगरमा निर्वाचित हुँदा खाली आएको र जाँदा पनि खाली नै जानेसमेत बताउनुभयो । तर उपमहानगरमा रहेका बेथिति हटाउँदै इटहरीको संवृद्धि र विकासलाई भने नयाँ उचाइमा पुरयाउने बताउनुभयो ।
मेयर चौधरीले चलाउनुभएको भ्रष्टाचार विरोधी अभियानलाई संस्थागत गर्दै उपमहानगरको पाँचौँ नगरसभाले “सुशासन र संवृद्धि हाम्रो अभियान, भ्रष्ट्राचार विहीन सरल, सहज र पहुँचयुक्त इटहरी नगर प्रशासन” नारा नै तय गरेको छ ।
सभाले सुशासन ऐन समेत पारित गरिसकेको छ । इटहरीको सामाजिक,शैक्षिक,आर्थिक र भौतिक विकासका लागि सहयोग गर्न उहाँले उपमहानगरवासीलाई आग्रह गर्नुभयो । आफू सवै पक्षसँग सहकार्य गरेर अघि वढने उहाँको भनाई छ ।