सरकारी विद्यालय गुणस्तर सुधार कार्यक्रम अलपत्र


 


काठमाडौं । सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगे पनि सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ ।

विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणअनुसार विद्यालयको समग्र सिकाइको उपलब्धि ५० प्रतिशतमाथि पुग्न सकेको छैन । सरकारले विद्यार्थी सिकाइलाई गुणात्मक बनाउने लक्ष्यसहित एक दशकको सामुदायिक विद्यालय सबलीकरण वर्ष घोषणा गरे पनि कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

सरकारले २०८५ सम्मलाई सार्वजनिक विद्यालय सबलीकरण वर्षसमेत घोषणा गरेको छ । सरकारले शिक्षा शीर्षकमा २०७६÷०७७ का लागि १ खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । विद्यालय कार्यसम्पादन परीक्षणमा १ हजार ९ सय ९९ विद्यालयमध्ये एउटा विद्यालय मात्रै उत्कृष्ट घोषणा भएको थियो ।

अधिकांश विद्यालयको नतिजा उत्साहजनक नभएको र सिकाइ उपलब्धि बिस्तारै खस्किँदै गएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले बताए ।

‘सरकारले सरकारी विद्यालयमा प्रतिविद्यार्थी बर्सेनि हजारौं खर्चिए पनि लागतको ग्यारेन्टी हुनुपर्छ,’ केन्द्रका महानिर्देशक पाण्डेले भने । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यालयको अधिकार क्षेत्र अझै अस्पष्ट हुँदा सिकाइ उपलब्धि खस्किएको बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रकाशित मिति: २१ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्