विवाह गर्ने उमेर १८ मा झार्न सांसद्हरुको सुझाब



काठमाडौँ, साउन २२

सांसदहरुले कानून संशोधन गरेर विवाह गर्ने उमेर २० वर्षबाट १८ मा झार्न सुझाव दिएका छन् । मुलुकी फौजदारी (संहिता) ऐन २०७४ ले विवाह गर्ने उमेर २० वर्ष तोके पनि नेपालमा त्यो भन्दा अघि नै विवाह हुने चलन रहेकाले कानून संशोधन गरेर व्यवाहारिक बनाउन सुझाव दिएका हुन् ।

आज महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापामगरसँग प्रतिनिधिसभामा प्रश्न गर्दै सांसदहरुले विवाह गर्ने २० वर्षे उमेर अव्यवाहारिक भएकाले सच्याउन माग गरेका हुन् ।

नेमकिपाका सांसद प्रेम सुवालले भारतसँग सीमा जोडिएका क्षेत्रमा २० वर्षअघि नै विवाह गर्ने चलन व्याप्त रहेको उल्लेख गर्दै त्यसलाई रोक्न मन्त्रालयले के गरिरहेको छ ? भन्ने प्रश्न गर्नुभयो । यस्तै नेकपाकी सांसद रामकुमारी झाँक्रीले पनि विवाहको न्यूनतम उमेर १८ वर्ष बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘२० वर्ष नै भनेर आर्दशवादी बन्दा हामी आफैले अपराध बढाउन प्रोत्साहन दिएका छौँ । त्यसलाई पुनर्विचार गर्नुपर्याे ।’

नेकपाका सांसद देवेन्द्र पौडेलले विवाह गर्ने उमेर भारतमा १८ वर्ष र नेपालमा २० वर्ष हुँदा समस्या भएको बताउनुभयो । उहाँले २० वर्ष नपुगी विवाह गरेर भारत जाँदा फिर्ता ल्याउन खोजे पनि भारतीय प्रहरीले नदिएको बताउनुभयो । जवाफमा मन्त्री थममाया थापाले उमेर नपुगी विवाह गर्न नपाउने व्यवस्था मुलुकी फौजदारी संहिताले व्यवस्था गरेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय कानूनअनुसार १८ वर्षसम्म बालबालिका मानिएकाले विवाह गर्ने उमेर २० वर्ष राखिएको बताउनुभयो । यसलाई प्रभावकारी बनाउन छलफल गर्न सकिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News