प्रदेश १ मा विद्युतीय बस चलाउने तयारी हुँदै


 


विराटनगर, साउन २३
झापाको काँकडभिट्टा र दमक सहितका प्रदेश १ का विभिन्न सहर जोड्ने गरी विद्युतीय बस सञ्चालनको तयारी सुरु भएको छ । प्रदेश १ सरकारको समन्वयमा निजी क्षेत्रले विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको हो । बस सञ्चालन गर्नेबारे निजी क्षेत्रले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रह समेत गरेको छ ।

प्रदेश सरकारको समन्वयमा झापा, मोरङ र सुनसरीभित्र छवटा चार्जिङ सेन्टरको लागि जग्गा उपलब्ध गराएमा पाँच महिनाभित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने बताइएको छ । विद्युतीय बस सञ्चालन पर्यावरणीय सुरक्षादेखि यात्रुको आर्थिक व्ययभार समेतले राम्रो हुने जानकारहरुको भनाइ छ ।

नेपालमै पहिलो पटक काठमाडौमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश १ मा पनि बस सञ्चालन गर्ने प्रस्ताव गरेको हो । विराटनगर, काँकडभिट्टा, इटहरी, धरान, दमकलगायत क्षेत्रमा सात कठ्ठादेखि नौ कठ्ठाको दरले जग्गा उपलब्ध भएमा तीन महिनाभित्र चार्जिङ स्टेशन बनाई यातायात सञ्चालन गर्न सकिने सुन्दर याताया प्रालि विद्युतीय सवारी साधनका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिएका छन् ।

उनले भने, ‘पहिलो चरणमा विराटनगर–काँकडभिट्टा र विराटनगर–धरान बस सञ्चालन गर्ने सोच हामीले बनाएका छौं ।’ एउटा चार्जिङ स्टेशन निर्माण गर्न ७० लाखसम्म खर्च हुने थापाले बताए । सञ्चालन हुने बसको मूल्य १ करोड ६२ लाख पर्छ । ४० सिट क्षमता भएको बसमा उभिएरसमेत गरी ७० जनासम्म यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । अपांगमैत्रीसमेत हुने बसमा एसीको सुविधा हुन्छ ।

बस सञ्चालन भए सरकारले तोकेको भन्दा ३० प्रतिशत भाडा घट्ने थापाले दाबी गरे । एकपटक चार्ज गरेपछि बस २६८ किलोमिटर दौडन सक्छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यो प्रक्रियाको लागि सरकारले सहजीकरण गर्ने र चाँडै नै विद्युतीय बस सञ्चालनको लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २३ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्