बै‌ंक हुन् कि ‘नयाँ सामन्त’ ? यसरी डुबाइन्छ ऋणीलाई


 


काठमाडौं । बैंकबाट ऋण लिनेहरु आर्थिक कठिनाइमा परिरहने तर बैंकको भौतिक समृद्धि भने बढिरहने उदाहरणले संस्थागत संरचनाका साथ ऋण लगानी गर्ने संस्थालाई आम नागरिक ‘नयाँ सामन्त’ को सज्ञा दिइरहेका छन् । कतिपय वित्तीय संस्थाका व्यवस्थापक तथा कर्मचारीको ऋणी तथा सेवाग्राहीमाथिको व्यवहार पनि ‘अमानवीय’ छ । बैंकको अनावश्यक दबाबका कारण ऋणीहरुले आत्महत्यासम्म गरेका उदाहरण छन् ।

‘ऋणको प्रस्तावनापत्रमा ११ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने प्रावधान हुन्छ, तर सानो ‘क्लज’ का आधारमा ६ महिनामा १३ र एक वर्षमा १७ प्रतिशत व्याज पुर्याइसकेको हुन्छ, न निल्नु न ओकल्नु’ ऋणीहरु बताउछन् ।

वित्तीय संस्थाका सेवाग्राहीहरुका अनुसार सबारीसाधन, घर निर्माण आदिमा धरौटी जेथाको मूल्यमा ४० देखि ५० प्रतिशतसम्म मात्र ऋण प्रदान गरिन्छ । साथमा ऋणीको आय पनि हेरिन्छ । तिर्नसक्ने क्षमता हेरेर मात्र ऋण प्रदान गरिन्छ । बैंकको दृष्टिले यसलाई स्वाभाविकै मान्नुपर्छ तर ११ प्रतिशतबाट बढेर १७ प्रतिशत व्याज हुनासाथ ऋण तिर्नसक्ने अवस्था रहन्न, ऋणी मानसिक तनाबमा पर्छ, किस्ता र व्याज तिर्न क्रूर दबाबको शैली अपनाइन्छ, यही कारणले कति ऋणीहरु आत्महत्या गर्नपुग्छन् ।

बैंकलाई यस प्रकारको व्यवहार ज्यादतीपूर्ण र अमानवीय हो भन्ने थाहा नभएको होइन, तर उसलाई राष्ट्र बैंकले नै नीतिगत संरक्षण दिएको हुन्छ । यस बेला सेवाग्राही निरीह बन्नपुग्छन् । यस्तो तनाबका कारण जसले आत्महत्या गर्छ, उसको त जीवन सकियो नै, आफूलाई भौतिक रुपमा समाप्त पार्न नसक्नेहरु मानसिक तनाबमा यसरी फस्छन् कि जीवनलाई नै नर्क बनाउँछन् । घरको मूली व्यक्ति तनाबमा परेका कारण घरपरिवार नै अस्तव्यस्त हुन्छ । याे समाचार आजकाे नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति: २४ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्