त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो



धादिङ : बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाट नजिकै पृथ्वी राजमार्गमा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७४६९ नम्बरको न्यूसृष्टि डिलक्स बस साउन २४ गते बिहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ।

दुर्घटनामा परी घाइते भएका ३ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ भने १३ जना विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन्।

उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी कार्यालयहरु बेनिघाट तथा गजुरी र प्रहरी चौकी जोगीमाराबाट समेत प्रहरी टोली खटी गई उद्दार कार्यमा जुटेको थियो। दुर्घटनामा मृत्यु भएका ९ जनाको शव आफन्तलाई बुझाइएको छ भने तनहुँ देवघाट गाउँपालिका-५ घिनटारस्थित बन्दै गरेको पुलमुनी फेला परेको करिब ४५ वर्षीय पुरुषको शव सनाखत हुन बाँकी रहेको छ। काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरूमा भारत सीतामढी घर हुने ४० वर्षीय धिरेन्द्र कुमार, सर्लाही कविलास नगरपालिका-४ बस्ने ३२ वर्षीय विजय यादव र सर्लाही हरिहर घर हुने बस चालक ४० वर्षीय जीवन विक रहेका छन्।

उनीहरूमध्ये चालक विकको अवस्था गम्भीर रहेको छ भने अन्य २ जना बोल्न सक्ने अवस्थामा छन्। सर्लाही मलंगवाबाट आएको उक्त बसमा चालक, सहचालक, कन्डक्टर र यात्रु गरी ४१ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी बेपत्ता भएका अन्य व्यक्तिहरूको खोजी तथा उद्दार कार्य एवं थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News