सीके राउतलाई संसदमा छिराउन सांसद यादवलाई राजीनामा दिन लगाइयो !


 


काठमाडौं । सप्तरी क्षेत्र नम्बर १ बाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)बाट चुनाव जितेका समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम)का सांसद डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा आउनुलाई विभिन्न अड्कल काटिएको छ ।

राजनीतिक क्षेत्रमा उनको राजीनामा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई संसद्मा प्रवेश गराउन आएको चर्चा चलेको छ । सांसद यादवआवद्धसमाजवादी पार्टी वर्तमान सरकारमा छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् ।

गएको फागुन अन्तिम साता पृथकतावादी आन्दोलन उत्रिएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतसँग सरकारले आश्चर्यजनक रुपमा ११ बुँदे राजनीतिक सहमति गरेको थियो । जेलबाट छुटेको भोलिपल्टै राष्ट्रियसभा गृहमा भव्य कार्यक्रमको आयोजना गरेर सरकारले राउतसँग ११ बुँदे सहमति गरेको सार्वजनिक गरेको थियो ।

११ बुँदे लिखित हो, तर अलिखित सहमति राउतलाई संसद हुँदै मन्त्रिपरिषद्मा लैजाने रहेको चर्चा त्यतिखेर पनि चलेको थियो ।

सोही अलिखित सहमति कार्यान्वयन गर्न सांसद यादवलाई राजीनामा दिन लगाइएको चर्चाले राजनीतिक बजार तताइरहेको छ । यादवले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका छन् ।

तर, हालसम्म उनको राजीनामा स्वीकृति भइनसकेको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए । उनकाअनुसार सभामुख महराले सांसद यादवसँग भेटेर छलफल गरेपछि मात्रै निर्णयमा पुगिने छ । उनको राजीनामा स्वीकृत हुनेमा धेरैले विश्वास गरेका छन् । आन्तरिक र भद्र सहमतिपछि उनको राजीनामा आएको नेताहरुको बुझाइ छ ।

‘मलाई डाइबिटिजलगायत समस्या थियो। पछिल्लो समय स्ट्रेस पनि बढिरहेको थियो, त्यसैले आराम गर्न पदबाट राजीनामा दिएको हुँ,’ राजीनामापछि यादवले भनेका छन् । तर, दबाब वा सीके राउतलाई ल्याउन स्वतःस्फूर्त राजीनामा दिएका हुन् भन्ने विषयमा जानकारी लिने प्रयास सांसद यादवले मोबाइल स्वीच अफ गरेर बसेकाले असम्भव भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको योजनामा उनलाई पदबाट राजीनामा दिन लगाएको र उनको स्थानमा सीके राउतलाई ल्याउने योजना रहेको नेताहरु आपसमा कुरा गर्न थालेका छन् । सांसद यादवको राजीनामा स्वीकृत भएमा सो स्थान रिक्त हुने र उपनिर्वाचन गरी पद पूर्ति गरिनु पर्ने कानुनी प्रावधान छ । हाल प्रतिनिधिसभाको एक क्षेत्र कास्की २ रिक्त छ । कास्कीमा आगामी मंसिर १४ गते उपनिर्वाचनको मिति तोकिएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्