यस्तो छ प्रचण्डले राजालाई गाली गर्नुको रहस्य


 


काठमाडौं सत्तारुढ नेकपाका सहअध्यक्ष प्रचण्डले दुबईको पारिवारिक भ्रमण सकेर फर्कनासाथ पूर्व श्री ५ ज्ञानेन्द्रलाई गाली गर्नुको रहस्य खुलेको छ । यही साउन १४ गते पत्नीको ‘रहर’ पूरा गर्न सपरिवार दुबई गएका उनले फर्किएपछि राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउने धम्की दिएका थिए । पुल उद्घाटका लागि रामेछाप पुगेका उनले गणतन्त्रपछि पनि नागार्जुन दरबारमा शरण दिइरहेको बताउँदै धेरै भाषणबाजी गर्दै हिँडे जनताले त्यहाँबाट निकाल्ने चेतावनी दिएका थिए । उनले राजा–महाराजाका मसिहाहरूलाई पनि जनताले ठीक पार्ने धम्की दिएका थिए । ‘उनीहरू नसच्चिए जनताले देशबाहिर लखेट्ने’ उनको धम्कीको व्यापक आलोचना भएको थियो । प्रचण्डले राजालाई नागार्जुबाट निकाल्ने धम्की दिएपछि त्यसको विरोधमा वीरगञ्जमा जुलुस नै निस्किएको थियो भने मुलुकभरका नागरिक तप्काले सामाजिक सञ्जाललगायतका माध्यम प्रयोग गरी स्वस्फूर्त रूपमा प्रचण्डको शैलीप्रति विरोध र आक्रोश प्रकट गरिरहेका छन् ।

निकै हतास मनोदशामा देखिएका प्रचण्डले अहिले आएर राजाविरुद्ध त्यसप्रकारको अभिव्यक्ति दिनुमा नेकपा नेता ईश्वर पोखरेल प्रमुख कारण रहेको बुझिएको छ । मन्तव्यमा ‘राजावादी’लाई चेतावनी दिइए पनि त्यो ‘तीर’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलतिर सोझ्याइएको भनी पूर्वएमाओवादीहरूबीच व्यापक चर्चा छ । नेता पाखरेल त्यसको केही दिनअघि मात्रै निर्मलनिवास गएको चर्चा चलेपछि प्रचण्डको मनमा शङ्का उत्पन्न भएको बताइन्छ ।

उपप्रधानमन्त्री पोखरेल निर्मलनिवास जाँदा प्रचण्ड दुबईमा परिवारसँग घुमघाममा थिए । यो चर्चा सुनेपछि प्रधानमन्त्री ओली र राजाबीच कुनै सम्झौता हुन लाग्यो कि भन्ने आशङ्का गरेर प्रचण्डले धेरैजनाबाट ईश्वरको निर्मलनिवास प्रवेशबारे बुझ्न लगाएका थिए । जब कि, ईश्वर पोखरेल नेपाल ट्रस्टको जग्गाको अनुगमन गर्न तथा त्यसबारे बुझ्ने निर्धारित कार्यक्रमअनुसार निर्मलनिवास परिसर पुगेका थिए । प्रधानमन्त्री केपी ओलीको आग्रहमा उनी ट्रस्टका अध्यक्ष छन् । निर्मलनिवास परिसरसँगै जोडिएको १४ आना जग्गा दरबारको (अहिले ट्रस्टको) भएकाले त्यसैको अवलोकनका लागि त्यहाँ पुगे पनि ईश्वर पोखरेल निर्मलनिवास गएको भन्ने चर्चाका कारण उनले राजालाई नै भेटे भन्ने आशङ्का व्यापक भएको थियो ।

प्राप्त जानकारीअनुसार आफ्ना केही निकटवर्ती सांसदहरूसँग उनले प्रधानमन्त्री केपी ओलीसँग आफूलाई अलिकति पनि विश्वास नभएको अभिव्यक्ति दिने गरेको बुझिन्छ । केही नेताहरूबीच प्रचण्डले ‘कहिलेकाहीँ त सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता तीनवटै उपलब्धि गुम्ने हुन् कि जस्तो पनि लाग्छ’ भनेका थिए । हिन्दूधर्म र राजा फर्काउने अनि सङ्घीयता हटाउने खालका अभियानमा मानिसको सक्रियताबारे गम्भीर हुन पनि उनले आग्रह गरेका थिए ।

प्रचण्ड ईश्वर पोखरेलप्रति अत्यन्तै नकारात्मक रहेको नेकपा सूत्रको दाबी छ । पोखरेललाई निर्वाचित महासचिवबाट हटाएर विष्णु पौडेललाई उनैले महासचिव बनाएका थिए । उनका निकटवर्तीहरूले ईश्वरको रिस राजालाई पोखेको भनी बुझे पनि राजालाई नागार्जुनबाट हटाउँछु भन्ने गालीले प्रचण्डलाई थप अलोकप्रिय बनाएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्