रवि लामिछानेलाई हत्या आरोपमा पक्राउ गर्दैछौंः प्रहरी


 


काठमाडौं प्रहरीले विवादित टेलिभजन कार्यक्रम प्रस्तोता रवि लामिछनेलाई हत्या घटना सम्बन्धमा पक्राउ गरी छानबिन गर्ने भएको छ ।

केही दिनअघि चितवनको एक होटलमा झुण्डिएर आत्महत्या गरेका टेलिभिजन पत्रकार शालीकराम पुडासैनीको भिडियो सार्वजनिक भएसँगै प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको हो ।

आत्महत्याअघि पुडासैनीले आफ्नै मोबाइलमा रुँदै रेकर्ड गरेको ८ मिनेट लामो भिडियोमा रविले आफूलाई मृत्युको बाटो रोज्न बाध्य पारेको बताएका छन् । लामिछानेले बारम्बार तनाब दिएको र ब्ल्याकमेल गरेकाले आफू बाँच्न नसकेको उनको भनाइ छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले रविलाई पक्राउ गर्ने प्रक्रिया सुरु भइसकेको जनाए । २० साउनमा भरतुरस्थित एक होटलमा पुडासैनीको शव भेटिएलगत्तै रविबारे अनुसन्धान थालिएको र मृतकले आरोपित गरेकाले रविसहित तीनजनाविरुद्ध कारबाही हुने मल्लको भनाइ छ ।

पुडासैनीको मोबाइलमा रहेको अडियो र भिडियो प्रयोगशालामा परीक्षण गरिएको र सो उनकै भएको पुष्टि भएको पनि मल्लले जनाए । घटना बाहिर आएलगत्तै रविमाथि कारबाही गर्न पीडित परिवारले माग गर्दै आएका छन् । सामाजिक सञ्जालमार्फत रविलाई कारबाही गर्न सरकारमाथि दबाब बढेको छ । नयाँ मुलुकु ऐनको व्यवस्थाअनुसार आत्महत्या गर्न बाध्य पार्नेलाई ५ वर्ष कैद र ५० हजार जरिवाना हुन्छ ।

प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्