बैठक लम्ब्याउँदै काँग्रेस सभापति देउवा


 


काठमाडौं । असार २२ मा सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक बुधवार केही घण्टा बसेर स्थगन भयो । बैठक पुनः आउँदो ११ गतेस बस्नेछ ।

एक महिनाभन्दा लामो समयदेखि जारी केन्द्रीय समितिले १४ एजेन्डामध्ये दुईवटामाथि मात्रै निर्णय लिएको छ । ती निर्णय पनि पूर्ण बन्न सकेका छैनन् ।

पार्टीको नियमावली सर्वसम्मत बनाउन समितिलाई निर्देशन दिएको महिनौं बितिसक्यो । अहिलेसम्म टुंगो लाग्न सकेको छैन । अन्तरिम संरचना बनाउने निर्देशिका बैठकले पारित गरे पनि प्रदेश संरचनाबारे अझै अन्यौल छ ।

पार्टीको नियमावली, अन्तरिम संरचनासहित पार्टीको अन्य एजेन्डा बैठकको भए पनि बैठकमा त्यसबारेमा खासै छलफल हुन नसकेको सहभागी नै बताउँछन् ।

बुधवारको बैठकमा अनुशासन समितिले आफ्नो प्रतिवेदन पेश गरेको र उपनिर्वाचनबारेमा निर्वाचन आयोगमा गएको कांग्रेस प्रतिनिधिले बैठकमा त्यसबारेमा जानकारी गराएका थिए ।

‘बैठकमा पार्टीको भातृ संगठन र अन्य महत्वपूर्ण मुद्दा अझै ज्यूँका त्यूँ छन्’, कांग्रेस युवा नेता भन्छन्, ‘बैठक किन लम्बिरहेको छ, हामीले नै बुझ्न सकेका छैनौं ।’

कांग्रेसले आउँदो भदौ तेस्रो हप्तादेखि पार्टीको जागरण अभियानको दोस्रो संस्करण सुरु गर्दै छ भने स्थानीय तहको संरचना समेत भदौदेखि नै बन्नेछ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति: ३० श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्