सर्वोच्च पुगिन् अभिनेत्री शिल्पा पोखरेल


 


काठमाडौं । पछिल्लो समय नेपाली फिल्म उद्योगका भेट्रान निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध विच्छेदको विवाद सर्वोच्च अदालत पुगेको छ । पहिलो श्रीमती हेमा ओझाले बहु–विवाहमा मुद्दा दायर गरेपछि निर्माता ओझा र अभिनेत्री पोखरेललाई जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । तर अहिलेसम्म उनीहरु पक्राउ पर्न सकेका छैनन् ।

अभिनेत्री पोखरेलले आफूविरुद्ध जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेसँगै सबैभन्दा पहिले उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन् । उनले उच्च अदालतमा आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेज हुनुपर्ने भन्दै आग्रह गरेकी थिइन् । तर, उच्च अदालतले पनि शिल्पाको सो निवेदनमा गत साउन २४ गते सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीको आदेश रोक्न अस्वीकार ग–यो ।

यसै अग्रहलाई लिएर अभिनेत्री पोखरेल सर्वोच्च अदालतको ढाका ढकढक्याउन पुगेकी हुन् । अभिनेत्री पोखरेलले दायर गरेकी रिटमा उच्च अदालतका न्यायाधीशद्वय सरलाकुमारी पाण्डे र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । साथै उच्चले पनि जिल्ला अदालतको आदेशलाई सदर गरेपछि अभिनेत्री पोखरेल पक्राउ पर्न सक्ने भन्दै सर्वोच्च अदालत पुगेकी हुन् ।

गत साउन १६ गते अभिनेत्री पोखरेलले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन् । तर उच्च अदालतले पनि आफू अनुकुल न्याय नगरेपछि उनी साउन २९ गते सर्वोच्चमा निवेदन दिएकी थिएकी छन् ।

ओझाकी जेठी श्रीमती हेमा ओझाले गत साउन ५ गते श्रीमान ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्