पत्रकार पुडासैनीको मृत्यु प्रकरण : विशेष अनुसन्धान ब्यूरोको टोली चितवनमा


 


भरतपुर । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पुर्याउन काठमाडौँबाट प्रहरीको विशेष अनुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो ।

अनुसन्धानमा थप सहयोग पुर्याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । उहाँले काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिकलगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने बताउनुभयो । टोलीले आजैदेखि काम शुरु गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । पत्रकार पुडासैनी मृत भेटिएका दिनदेखि नै अनुसन्धान जारी राखिएको कोइरालाले बताउनुभयो । “बाहिर दैनिक रुपमा भइरहेका प्रदर्शनले पनि अनुसन्धानका लागि समस्या हुनेगरेको छ”, उहाँले भन्नुभयो, “तर हामीले आफ्नातर्फबाट अनुसन्धानलाई निरन्तरता दिएका छौँ ।” तीन दिनदेखिको प्रदर्शनका कारण प्रहरीको सम्पूर्ण शक्ति भीड व्यवस्थापन र नियन्त्रणमा खर्च गर्नुपरेको छ ।

शुक्रबार जिल्ला अदालतले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसँगै, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । उनीहरुलाई बिहीबार प्रहरीले काठमाडौँमा पक्राउ गरी यहाँ ल्याएको थियो ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्