नेकपामा माधव नेपालको तेश्रो बरियता खोसियो


 


काठमाडौं, भदौँ १

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले तेस्रो बरियतामा नेता झलनाथ खनाललाई बनाएको छ । यो निर्णयसँगै हाल तेस्रो बरियतामा रहेका माधवकुमार नेपाल चौँथो बरियतामा झरेका छन् ।

आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले नेता खनाललाई तेस्रो बरियतामा ल्याउने निर्णय गरेको हो । यो निर्णयसँगै बरियता घटुवामा परेका नेता नेपालले असन्तुष्टि जनाएका छन् ।

२०७५ जेठ ३ गते तत्कालिन दुई पार्टी (एमाले र माओवादी केन्द्र) बीच पार्टी एकीकरण घोषणा गर्दा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोडबलमा नेता नेपाललाई तेस्रो बरियतामा ल्याइएको थियो ।

त्यतिबेला नेता खनाल चीन भ्रमणमा थिए । चीन भ्रमणबाट फर्कैलगत्तै नेता खनालले उक्त निर्णय प्रति चर्को असन्तुष्टि जनाएका थिए । साथै उनले उक्त निर्णय गलत भएको भन्दै त्यसलाई पुर्नविचार गर्न त्यतिबेला सचिवालय बैठकमा माग समेत गरेका थिए ।

त्यतिबेला उनको मागबारे अध्यक्षद्वयलगायत अन्य नेताहरु मौन बसे । तर, पार्टी एकता घोषणा गरेको १५ महिनापछि नेता खनालको माग पुरा भएको छ ।

तत्कालिन एमालेमा अध्यक्ष ओलीपछि दोस्रो बरियतामा नेता खनाल थिए । तर, एकीकृत पार्टी बनेपछि उनी चौथो बरियतामा पुगे । नेकपामा अध्यक्षद्वय ओली–प्रचण्ड पछिको तेस्रोे बरियतामा नेता नेपाललाई ल्याइयो । जबकि नेता नेपाल तत्कालिन एमालेमा खनालपछिको तेस्रो बरियतामा थिए ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्