प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक ?
काठमाडौं, भदौँ ३
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन उहाँले सर्वदलीय बैठक बोलाउनुभएको हो ।
आइतबार संसदमा सम्बोधन गर्दै उहाँले संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक सातामा लगाइसक्ने बताउनुभएको थियो । त्यही मन्तब्य अनुसार प्रधानमन्त्रीले आज अपरान्ह ५ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन सर्वदलीय बैठक बोलाउनुभएको हो ।
प्रधानमन्त्रीले भोली अपरान्ह ५ बजेका लागि नेपाल कम्युनष्टि पार्टी (नेकपा) र नेपाली कांग्रेसको बैठक बोलाउनुभएको छ । यी दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाइरहेको सन्दर्भमा सर्वदलीय बैठक बोलाइएको हो ।
यी दईवटा आयोगका लागि नेकपा र कांग्रेसबीच लामो समयदेखि छलफल भइरहेको छ । दुईमध्ये सत्यनिरूपणका प्रमुख नेकपा र बेपत्ता खोजबिनमा कांग्रेसनिकट नियुक्त गर्नेबारे दई दलका नेताबीच छलफल भइरहेको छ ।
प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलबार